काठलाई कलात्मक आकार दिदैं बझाङका लक्ष्मण जप्रेल

काठलाई कलात्मक आकार दिदैं बझाङका लक्ष्मण जप्रेल

बझाङ । बझाङमा हस्तकलाको संरक्षण हुन नसकेकाले कलाकर्मी त्यसबाट विमुख हुने गरेको देखिन्छ । कलामै जीवन बिताउनेहरू पनि नेपालमा भविष्य नदेखेपछि विदेशिने गरेको पाइन्छ ।

त्यसमा पनि ग्रामीण क्षेत्रका कलाकर्मीले त आफूमा भएको कलाको कुनै निकायबाट सम्बोधन नहुँदा कला गुम्साउन’ परेको महसुस गर्न थालेका छन् । बझाङमा विभिन्न ऐतिहासिक मूर्ति र काठलाई कलात्मक मूर्तिको आकार बनाउँदै आएका बझाङको दुर्गाथली गाउँपालिका–५ नविसका लक्ष्मण जप्रेल भने यही पेसामा रमाइरहेका छन् ।

राज्यबाट कुनै सहयोग नहुँदा थोरै संख्यामा रहेका कलाकर्मी समेत लोप हुँदै गएका छन । काठ, ढुङ्गा र रङसँग लामो समय लगाएर बनाएका कलाकृतिको राज्यले महत्त्व नदिएकाले कलाकर्मीहरू निरुत्साहित हुने गरेका छन् । बाल्यावस्थादेखि काठमा आकृति उतार्न सिपालु लक्ष्मण ८ वर्षदेखि व्यावसायिक रूपमा काठका मूर्ति बनाउँदै आएका छन् ।

काठ खोपेर कसैको आकृति उतारेर सामान्य जीविकोपार्जन गर्दै आएका लक्ष्मण राज्यले सीपअनुसारको काम र निर्माण भएका मूर्तिको व्यवस्थापन गरे विश्वसामु बझाङलाई चिनाउने बताउँछन् । ४४ वर्षे लक्ष्मणले हालसम्म काठकै मात्र ४० को हाराहारीमा मूर्ति तयार पारेका छन् ।

बझाङका विभिन्न मन्दिर र अन्य ठाउँमा उनले निर्माण गरेका मूर्ति सालिकका रूपमा रहेका छन् । राज्यका तर्फबाट यतिका समयसम्म कुनै किसिमका तालिम र सहयोग नभएकाले आफू ओझेलमा परेको उनले गुनासो गरेका छन् ।

रोजगारीका क्रममा भारत समेत पुगेका लक्ष्मणले भारतमा पनि काष्ठकलाकै काम गरेको बताए । उनले भने, ‘सुरुमा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह, खप्तडस्वामी, गौतमबुदको आकृति कोरेको थिएँ । पछिपछि भगवानहरूको पनि अडर आएपछि धेरै आकृति कोरेर दिएको छु ।’

बच्चादेखि नै चासो भए पनि धेरै पछि आफू यो पेसामा लागेको उनले बताए । अहिले पनि अर्डर आएपछि मात्रै आकृति कोर्ने गर्नाले पनि त्यति प्रचारप्रसार नभएको र राज्यले पनि तालिमको व्यवस्था गरिदिए भावी पुस्तालाई सिकाउन आफूलाई सजिलो हुने उनको भनाइ छ ।