मध्य टर्कीमा सात जना भूकम्पपीडितको आगलागीमा परी मृत्यु

मध्य टर्कीमा सात जना भूकम्पपीडितको आगलागीमा परी मृत्यु

एजेन्सी । टर्किएको मध्य शहर कोन्यामा अस्थायी आश्रयस्थलमा रहेका सात जना भूकम्पपीडितको शुक्रबार आगलागीमा परी मृत्यु भएको छ ।

यही फेब्रुअरी ६ मा आएको शक्तिशाली भूकम्पबाट बाँचेका ती व्यक्तिहरूले आगलागीमा परी ज्यान गुमाएका हुन् । मृत्यु भएका सात जना सिरियाली परिवारका सदस्यहरू रहेको बताइएको छ ।

अनाडोलु एजेन्सीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सम्भवतः रातको समयमा विद्युतीय हिटर वा स्टोभमा आएको खराबीका कारण आगो लागेको हुन सक्ने बताएको छ ।

सन् २०११ मा अरब देशमा गृहयुद्ध सुरु भएपछि लाखौँ सिरियाली शरणार्थीहरू हाल टर्किएमा बसिरहेका छन् । टर्कीका अधिकांश सिरियालीहरू गरिबीमा बाँचिरहेका छन् । भर्खरै गएको भूकम्पले उनीहरूको पहिलेदेखि नै पीडादायी जीवनमा थप तनाव थपेको छ ।

फेब्रुअरी ६ मा ७।७ र ७।६ म्याग्निच्युडका शक्तिशाली दुईवटा भूकम्पका कारण दक्षिणी टर्किएमा ३८ हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए ।