चोरीका ब्याट्रीसहित धरानमा  ६ जना पक्राउ

चोरीका ब्याट्रीसहित धरानमा  ६ जना पक्राउ

सुनसरी - धरानमा गाडीहरुमा प्रयोग हुने ब्याट्री चोरी गर्ने गिरोह र खरिद गर्ने कबाड सञ्चालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देउकुमार लिम्बूका अनुसार उनीहरुलाई आइतबार नै सुनसरी जिल्ला अदालतमा म्याद थप गर्न लगिएको छ । म्याद थप गरेर ल्याइसकेपछि मात्र उनीहरुको नाम सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

धरान–५ देउरालीमा गाडीको ब्याट्री चोरी भएको जानकारी अस्थायी प्रहरीचौकीमा दिएपछि चोर पक्राउ परेलगत्तै थप अनुसन्धान गर्दा ठूलै गिरोह रहेको रहस्य खुलेको प्रहरीले जनाएको छ । सीसीटीभी फुजेटबाट चोरी गर्दै गरेको देखिएपछि चोर पत्ता लागेको थियो ।

उनीहरुले ट्याक्टर, टिपर, बस, ट्रक, टेम्पो, सफारीलगायतका सवारीसाधनहरुको ब्याट्री चोर्ने गरेको ती ब्याट्री सस्तोमा कबाडवालालाई बेच्ने गरेको रहस्य खुलेको प्रहरीले जनाएको छ । उनीहरुले चोरी गरेको ठूलो परिमाणको ब्याट्री पनि प्रहरीले बरामद गरेको छ ।