मुड फ्रेस गर्न के गर्ने ?

मुड फ्रेस गर्न के गर्ने ?

काठमाडौँ । मान्छेको मन पनि मौसमजस्तै हुन्छ । अदलबदल भइरहन्छ । हामी कहिले उत्साहित हुन्छौँ त कहिले मुड अफमा पनि हुन्छौँ। मुड अफ वा खराब मनोदशामा भएको वेला व्यक्ति निराश वा दुःखी देखिन्छ भने मुड फ्रेस भएको वेला आनन्दित हुन्छ । वेलाबखत हामी सबैको मुड अफ वा मुड खराब हुने गर्छ । यो सामान्य कुरा हो । यतिवेला हामीले केही उपाय लगाएर आफूलाई फ्रेस बनाउन सक्छौँ । 

पानी प्रशस्त पिउने, जसले मनलाई शान्त राख्न मद्दत गर्छ । 
मुड अफ हुँदा आनन्ददायी अभ्यास गर्ने, श्वासप्रश्वासको अभ्यास गर्ने, लामो गहिरो श्वास लिने र छोड्ने गर्नुपर्छ । ध्यान वा माइन्ड फुलनेसको अभ्यासले पनि मुड फ्रेस हुन्छ । 

रमाइलो गीत–संगीत सुन्ने, नाच्ने, गाउने, खुला हावा, फूलबारी वा बगैँचामा घुम्ने गर्नुपर्छ । आफूलाई मन पर्ने रमाइलो कार्यमा संलग्न हुने, रमाइलो कमेडी फिल्म हेर्ने, जोक्स पढ्ने, सुन्ने, घुम्न जाने, मिल्ने साथीभाइसँग भेटघाट गर्ने, रमाइलो कुराकानी गर्ने गर्नुपर्छ । कफी, चकलेटको सेवनले पनि मुडलाई राम्रो बनाउँछ ।

तनावले पनि हाम्रो मुड अफ हुने हुँदा तनाव कम गर्ने क्रियाकलापमा संलग्न हुने, आराम गर्ने, रिफ्रेस हुने गर्नुपर्छ । शारीरिक व्यायाम वा योगा गर्नाले मुड सकारात्मक हुन्छ । मुड अफ बनाउने व्यक्ति, घटना, परिस्थितिबाट केही समय टाढा हुँदा पनि फाइदा हुन्छ ।