सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि सुनुवाइ हुने

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि सुनुवाइ हुने

काठमाडौँ । सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाई हुने भएको छ। आइतबार सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। 
आइतबार सरकारी वकिल र पीडितका वकिलको बहस सकिएको छ। तर सन्दीप पक्षको बहस नसकिएपछि सोमबार पनि सुनुवाई हुने भएको हो। 

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पेशी तोकिएको छ। भोलि पनि यही इजलासमा सुनुवाई हुनेछ। सन्दीपको तर्फबाट आइतबार वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल र मुरारी सापकोटाले बहस गरेका छन्। सोमबार सरोजकृष्ण घिमिरे, रमनकुमार श्रेष्ठ र रोशनी घिमिरेले बहस गर्ने तयारी छ।

सन्दीप लामिछानेले आफू विदेश जान पाउनु पर्ने माग गर्दै निवेदन दिएका छन्। उच्च सरकारी वकिल कार्यालयले भने सन्दीपलाई थुनामै राखेर मुद्दाको अन्तिम टुंगो लगाउन माग गरेको छ। यी दुवै निवेदनको सँगै राखेर सुनुवाई भइरहेको हो। । यसअघि शुक्रबार सन्दीपको रिटमा सुनुवाइ भएपनि विदेश जाने अनुमति बारे निर्णय भएको थिएन।