सन्दीपलाई आजै यूएई पठाउने क्यानको तयारी

सन्दीपलाई आजै यूएई पठाउने क्यानको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्नका लागि सन्दीप लामिछानेलाई पठाउने तयारी गरेको छ ।

यूएई र पपुवा न्युगिनीसम्मिलित शृंखला खेलिरहेका एक खेलाडी घाइते भएकाले उनको ठाउँमा सन्दीपलाई पठाउने तयारी गरिरहेको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले जानकारी दिए ।

पाठकका अनुसार सन्दीप टिमको अन्तिम १६ मा रहेको र अदालतले उनलाई विदेश जाने अनुमति पनि दिएका कारण उनलाई सिरिजका लागि यूएई पठाउन लागिएको हो ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडे पनि विदेश जाने अनुमति दिएको थिएन । त्यसैले सन्दीप यूएई जान पाएका थिएनन् ।

तर सर्वोच्च अदालतले गत सोमबार उच्च अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई विदेश जान अनुमति दिएपछि क्यानले उनलाई यूएई पठाउन लागेको हो ।