अत्तरियामा भोलि ‘सरी मम’ को क्याम्पियन शो देखाइने

अत्तरियामा भोलि ‘सरी मम’ को क्याम्पियन शो देखाइने

अत्तरिया । लागुऔषध विरुद्धको सन्देश सहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्म ‘सरी मम’ को क्याम्पियन शो भोलि अत्तरियामा देखाइने भएको छ । एनएफआई क्रियशनको ब्यानरमा बनेको फिल्मलाई भोलि नमस्ते होटलको पार्टी प्यालेसको हलमा देखाउन लागिएको हो ।

शुक्रबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मका व्यवस्थापक विकास प्रसाईले शनिबार २ बजे क्याम्पियन शो देखाइने बताए । उनले लागु औषध विरुद्धको अभियानका क्रममा फिल्मका माध्यमबाट युवाहरुलाई जनचेतना दिने क्याम्पियन शो गर्न लागिएको बताए ।

‘फिल्म स्कुल कजेज देखि लिएर युवाहरुलाई देखाउने प्रयास गरिरहेका छौ’ उनले भने ‘यो फिल्म नेपाल भरीनै देखाउने लक्ष्य भएकाले यसलाई सबैक्षेत्रमा देखाउने प्रयास गरिरहेका छौ ।’

फिल्मका नायक प्रभात पाल ठकुरीले युवाहरु लागु औषधमा कसरी फस्छन र, त्यसबाट कसरी जोगाउन सकिन्छ भन्ने कुरा फिल्ममा देखाइएको बताए ।

उनले फिल्न हेर्नका लागि स्थान र परिस्थिति हेरेर न्यून शुल्क लिइरहेको बताए । ‘युवाहरुलाई लागुऔषधबाट जोगाउनको लागि राज्यबाट नै सहयोग हुनु पर्ने हो । तर, हामीले निजी क्षेत्रबाट यसलाई निर्माण गरेर युवाहरुलाई देखाउने खोजेका छौ’ उनले भने ‘यसमा कक्षा ८ देखि १२ कक्षाका विद्यार्थीलाई देखाउने छौ ।’

अत्तरियामा हुने क्याम्पियन शोमा गोदावरी नगरपालिका प्रमुख, वडा अध्यक्ष, शिक्षक, विद्यार्थीलगायतलाई आमन्त्रण गरिएको छ । क्याम्पियन शो पछि छलफल गरेर यसलाई अत्तरियाका अन्य क्षेत्रमा कसरी देखाउन सकिन्छ भन्ने विषयमा योजना बनाइने नायक ठकुरीले बताएका छन् ।
सरी ममको नविन बोगटीले निर्देशन गरेका हुन भने विनोद लामाले प्रोडक्सन गरेका हुन ।

फिल्ममा आमाको भूमिकामा सरिता लामेछाने, मामाको भूमिकामा सरोज खनाल रहेका छन । त्यस्तै अन्य कलाकारमा एलिस राई, प्रविल कँडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी लगायत कलाकारको अभिनय छ । फिल्मको कथा आयुष बुढाथोकी र सरोज पौडेलले तयार पारेका हुन् । दिर्घ गुरुङले छायांकन गरेको फिल्मलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन् । फिल्म १ घण्टा ४८ मिनेटको रहेको छ ।

अत्तरिया क्षेत्रमा फिल्म देखाउनका लागि पिएफए, सिवाइसी र जेसिआइ अत्तरियाले सहयोग गरेका छन् । पीएफए क्लवका संस्थापक अध्यक्ष सन्तोश भट्टले आफूहरुले यस क्षेत्रमा अवारनेस कार्यक्रम नै गरिरहने भएकाले यस फिल्मले पनि सोही सन्देश दिने भएकाले अत्तरिया क्षेत्रमा यसलाई देखाउने आफूहरुले पनि सहयोग गरेको बताए ।