‘छड्के २’का वितरक भन्छन्, ‘व्यापार न उत्साहजनक न निराशाजनक’

‘छड्के २’का वितरक भन्छन्, ‘व्यापार न उत्साहजनक न निराशाजनक’

सुपरस्टार अनमोल केसीको स्टारडम नै फिल्म चल्ने आधार मानिन्छ । उनको नामैले युवापुस्ताको ठूलो वर्गलाई हलसम्म तान्छ भन्ने विश्वास छ । डेब्यू फिल्म ‘होस्टेल’देखि पछिल्लो रिलिज फिल्म ‘ए मेरो हजुर ४’सम्म यो अवस्था नदेखिएको होइन । यही आधारमा शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छड्के २’को ओपनिङ आक्रामक हुनसक्ने प्रक्षेपण गरिएको थियो । तर, त्यसो हुन सकेन ।

एकातिर ‘छक्का पञ्जा’ जस्तो ब्रान्ड फिल्मको सिरिजसँग भिडन्त र अर्कोतिर फिल्म आफैंमा कमजोर हुँदा ‘छड्के २’को ओपनिङ अनमोलको करिअरकै कमजोर बन्न पुगेको छ । शुक्रबार ४०र५० प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको फिल्मको शनिबार ५०र६० प्रतिशतको आसपास अकुपेन्सी देखिएको छ । अनमोलको स्टारडमको अगाडि फिल्मको यो अकुपेन्सी सुखद होइन ।

अनमोलकै नामका लागि फिल्ममा डेढ करोड हालेका वितरक सुनिल मानन्धर फिल्मको ओपनिङ अपेक्षाकृत नभएको स्वीकार गर्छन् । ‘फिल्मको व्यापार न उत्साहजनक न निराशाजनक छ । शुक्रबारको तुलनामा शनिबारको व्यापार केही राम्रो छ । अब आइतबारबाट दर्शकको ‘फ्लो’ कस्तो रहन्छ, त्यसले फिल्मको भविष्य निर्धारण गर्नेछ,’ उनले भने । उनले आश मारिसकेका भने छैनन् ।

फिल्मले अपेक्षाकृत व्यापार नगरेपछि अनमोलले हल(हल पुगेर दर्शकसँग साक्षात्कार समेत गरेका छैनन् । नभए उनले यसअघि आफ्ना हरेक फिल्म रिलिज हुँदा हल-हल नचाहेर दर्शक भेट्ने गरेका थिए । यसपटक उनले फिल्मको प्रचारमा अनुहार समेत देखाएनन् । फिल्मको इनिसियल व्यापार कमजोर हुनुमा उनलाई निर्माण टिमले प्रचारमा नहिँडाउनु पनि एउटा प्रमुख कारण मानिएको छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा अनमोल केसी ग्याङस्टरको भूमिकामा छन् । यो उनका लागि नयाँ चरित्र थियो । उनले करिअरमाथि लिएको यो ठूलो ‘रिक्स’ समेत हो । किनकि, उनले रोमान्टिक लभर ब्वाईको भूमिकाबाट दर्शकको आफ्नै वर्ग बनाएका छन् । ‘छड्के २’को व्यापार हेर्दा दर्शकले उनलाई रोमान्टिक भूमिकामै हेर्न रुचाएको देखिन्छ । यो उनका लागि सिकाइ पनि हो ।