दीपकराज गिरिको छक्कपञ्जा ४ को अगाडि अनमोल केसीको छड्के २ टिक्न सकेन

दीपकराज गिरिको छक्कपञ्जा ४ को अगाडि अनमोल केसीको छड्के २ टिक्न सकेन

एकैदिन जुधाएर ओपनिङ भएका २ प्रतिक्षारत चलचित्र दिपकराज गिरिको छक्कापञ्जा ४ र अनमोल केसी छड्के २ को पहिलो दिने अकुपेन्सी हेर्दा गिरिले केसीलाइ सुलुत्तै निलेका छन् । छक्कापञ्जा ४ हेर्न भीड लागेको छ भने छड्के २ मा दर्शक पाउन हम्मेहम्मे परेको छ । 

 ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त आक्रामक ओपनिङ गर्ने देखिएको छ । शुक्रबार मध्यान्हपछि फिल्मको अकुपेन्सीले गति लिएको छ । मुलुकका प्रमुख मल्टिप्लेक्स चेनदेखि सिंगल स्क्रिनमा समेत अपरान्ह, बेलुका र रात्रि शोहरु शतप्रतिशत खचाखच हुने देखिएको छ ।

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे, राज आचार्यलगायत दर्शकलाई भेट्न हलहलमा पुगिरहेका छन् । फिल्म हेरेका दर्शकसँग प्रतिक्रिया पुग्नेदेखि मिट एण्ड ग्रीटमा उनीहरु व्यस्त देखिएका छन् । फागु पूर्णिमापछि मोफसलका हल दौडाहामा गएर दर्शक भेट्ने उनीहरुको तयारी छ ।

अपरान्हसम्मको अकुपेन्सी ट्रेण्ड हेर्दा अनमोल केसी स्टारर ग्याङस्टर फिल्म ‘छड्के २’लाई ओपनिङमा सकस देखिएको छ । क्यूएफएक्सले फिल्मलाई ४० शो उपलब्ध गराएपनि अकुपेन्सी १० प्रतिशत हाराहारीमा देखिन्छ जुन अपेक्षा गरिएअनुसार होइन । माइकल जोर्डन स्टारर हलिउड फिल्म ‘क्रिड ३’को ओपनिङ पनि निकै कमजोर छ ।