माओवादी केन्द्रको सर्कुलेसन– सुदूरपश्चिममा मिलेर जानू

माओवादी केन्द्रको सर्कुलेसन– सुदूरपश्चिममा मिलेर जानू

धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारका सन्दर्भमा ‘मिलेर जान’ निर्देशन दिएको छ। प्रदेश संसदीय दलको बैठकले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसकिने निर्णय गरेपछि पार्टीको केन्द्रीय तहबाट ‘मिलेर जान’ निर्देशन दिइएको हो। 

माओवादी केन्द्रका एक नेताले पार्टीको केन्द्रीय तहबाट ‘मिलेर जान’ भनेर सर्कुलेसन आएको बताए। ‘प्रदेश सरकारको सन्दर्भमा मिलेर जान भनेर पार्टीको केन्द्रीय तहबाट निर्देशन आएको छ,’ माओवादी केन्द्रका ती नेताले नेपाल लाइभसँग भने। 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज (आइतबार) प्रदेश सभाबाट विश्वासक मत लिने तयारी गरेका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ। 

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत सिद्ध गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुख बाहेक १०, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र १ जना स्वतन्त्र सांसद छन्। 

नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। माओवादी केन्द्रले भने औपचारिक निर्णय गरिसकेको छैन। 

पार्टीको केन्द्रीय तहबाट ‘मिलेर जानू’ भन्ने सर्कुलर आएपछि संसदीय दलको बैठक बस्ने तयारी भएको माओवादी केन्द्रका नेताहरुले जानकारी दिएका छन्। विश्वासको मतका सन्दर्भमा संसदीय दलको बैठकले औपचारिक निर्णय गर्ने बताइएको छ।