रेखा, पूजा र आँचल एकसाथ फिल्म खेल्दै

रेखा, पूजा र आँचल एकसाथ फिल्म खेल्दै

नेपाली फिल्मका तीन लिडिङ अभिनेत्रीहरु रेखा थापा, पूजा शर्मा र आँचल शर्माबीच पहिलो पटक फिल्ममा सहकार्य हुने भएको छ । रेखा स्वयंले निर्माण गर्न लागेको फिल्ममा उनीहरुले एकसाथ अभिनय गर्न लागेका हुन् । आगामी बैशाखबाट छायांकनमा जाने फिल्मलाई ‘झिँगेदाउ’ फेम्ड निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्नेछन् । सुलक्षण भारतीले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् ।

सोमबार रेखासँग एकसाथ होली खेल्ने क्रममा पूजाले यो फिल्ममा काम गर्न आफू उत्साहित रहेको बताइन् । अहिले यही फिल्मको काममा आफू केन्द्रित रहेको बताउँदै उनले भनेकी छन्, ‘अहिले कुनै पनि फिल्म नगर्ने, सिर्फ यसमा ‘फोकस’ छु । मलाई सुदर्शन थापाले पनि त्यति ‘स्ट्रिक’ गर्नुभएको छैन होला, जति रेखा दिदीले गर्नुभएको छ । उहाँको सल्लाहअनुसार अगाडि बढिरहेको छु ।’

ज्ञानेन्द्रले यसअघि रेखालाई ‘देवर बाबु’, ‘हिफाजत’ फिल्ममा निर्देशन गरिसकेका छन् भने आँचलसँग यसै वर्षको सुपरहिट फिल्म ‘झिँगेदाउ’मा सहकार्य भएको थियो । पूजासँग भने देउजाले पहिलो पटक काम गर्न लागेका हुन् । स्क्रिप्टको ‘फस्ट ड्राफ’मा काम भैरहेको जानकारी दिँदै उनले फिल्म महिलाप्रधान विषयवस्तुमा बन्न लागेको बताए । फिल्म पूर्ण कमर्शियल हुने उनको भनाई छ ।

पूजा र आँचललाई एकअर्काको प्रतिस्पर्धी भन्ने गरिन्छ । उनीहरुबीच खासै हार्दिक सम्बन्ध नभएको चर्चा चलिरहेको समयमा रेखा र ज्ञानेन्द्रले दुवैलाई एकसाथ पर्दामा उतार्ने प्रयास गरेका छन् । रेखासहित पूजा र आँचललाई एकसाथ पर्दामा हेर्न दर्शकलाई पनि रोचक हुनेछ । ठूलो स्टारकास्ट लिएर फिल्म बनाउन चुनौतीपूर्ण हुने भए पनि आफू त्यसका लागि तयार रहेको देउजा बताउँछन् ।