देशभरका क्याम्पसमा स्ववियु उम्मेदवारी दर्ता आज

देशभरका क्याम्पसमा स्ववियु उम्मेदवारी दर्ता आज

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदैछ  ।

उम्मेदवारी दर्ताका लागि क्याम्पसहरूमा शुक्रबार उत्साहजनक रूपमा मनोनयनपत्र वितरण भएको थियो । यस पटक स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदैछ ।

१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनका लागि निर्वाचन समितिले शनिबार बिहान ११ देखि २ बजेसम्म उम्मेद्वारी दर्ताको समय छुट्याएको छ ।

उम्मेदवार बन्न २८ वर्षे उमेरहद लागू गरिएको छ ।

शनिबार नै प्रत्यक्षतर्फका उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । चैत ५ मा हुने निर्वाचनका लागि समितिले नमुना मतपत्र बनाएर क्याम्पसहरूमा समेत पठाइसकेको छ । ६२ आंगिक क्याम्पसमा १ लाख ६२ हजार मतदाता रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काठमाडौं त्रिचन्द्र बहुमुखी क्याम्पसले भने मतदाता सूची सार्वजनिक गर्न सकेको छैन ।

निर्वाचनमा काठमाडौं उपत्यकाभित्रका २२ आंगिक क्याम्पसका साढे ६६ हजार र उपत्यकाबाहिरका साढे ९५ हजार विद्यार्थी सहभागी हुँदै छन् । यसबाहेक सामुदायिक र निजी क्याम्पसमा पनि स्ववियु चुनाव गराउन त्रिविले सर्कुलर गरेको छ । त्रिविअन्तर्गत ५ सय २३ सामुदायिक र ५ सय १७ निजी क्याम्पस छन् ।

इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका पुल्चोक,थापाथली, पश्चिमाञ्चल क्याम्पस पोखरा, पूर्वाञ्चल क्याम्पस धरानले विद्युतीय मतदान प्रणालीबाट निर्वाचन गर्ने तयारी गरेका छन् । केन्द्रीय क्याम्पस कीर्तिपुरले पनि विद्युतीय मतदान गराउने निर्णय गरेको छ ।

स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।