धनगढीको रुवस होटल कति सुरक्षित ?

धनगढीको रुवस होटल कति सुरक्षित ?

धनगढी ।  धनगढीको नाम चलेको होटल मध्ये एक हो रुवस होटल । विगत लामो समयदेखि धनगढीमा सेवा दिँदै आएको होटलमा शनिवार राति पत्रकार शेरबहादुर ऐरमाथि प्रहार भयो । प्रहारपछि घाइते भएका ऐरलाई कस्ले घाइते बनायो भन्ने विषयमा न त होटललाई थाहा छ नत ऐरलाई नै । रुवस होटलमा भएका सिसि क्यामेराले समेत उनी घाइते भएको स्थानलाई देखाउन सकेन । 

शनिवार बिहान ९ बजेबाट कार्यक्रम दिनभर चलिरहेको कार्यक्रममा ऐर पनि पुगेका थिए । उक्त होटलमा सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साईमन) नामक संस्थाको सुदूरपश्चिममा सिकलसेलका बिरामी बढी भएकाले यसको व्यवस्थापनबारे विज्ञ चिकित्सकहरूबाट राय सुझाव सङ्कलन गरिएको थियो । 

कार्यक्रम सकिएपछि उक्त होटलमा सोही संस्थाको खाना (डिनर) को पनि व्यवस्था गरिएको थियो । खाना खाएर आफ्नो घर फर्किँदै थिए पत्रकार ऐर । ऐर रेडियो धनगढी र धनगढी खबर डटकममा कार्यरत पत्रकार हुन । 
हलबाट बाहिर निस्केर चौर मै उनको टाउको चोट लाग्यो । पत्रकार भन्छन् ‘मलाई कुनै व्यक्तिले पछाडिबाट धारिलो हतियारले प्रहार भयो,’ मेरो टाउको चोट लागेपछि म करिब २ मिनेट अचेत भए ।,’ त्यसपछि उनलार्ई होटलमा रहेका सेकुरटीले उठाएका हुन् । त्यसपछि उनले अरु पत्रकारलाई जानकारी गराएका थिए ।

तर होटलका स्टाफ भन्छन् उहाँ लड्नु भएको हो । उक्त होटलमा चारै तिर सिसिटिभी लागाईएको भएता पनि पत्रकार ऐरको घटना भएको ठाउँमा सिसिटिभीको फुटेज नै भेटिँदैन । 
धनगढीकै नाम चलेकै होटलमा सुरक्षा छैन भने अरुमा के होला भन्ने प्रश्न यति बेला खडा भएको छ ।

पत्रकार ऐरको टाउकोमा ५ ओटा टाका लागेको छ । उनको अवस्था अहिले खतरामुक्त रहेको भएपनि तर उनलाई सुरक्षाको अनुभूति भने हुन सकेको छैन ।  ऐरले जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाहीका लागि निवेदन दर्ता गरेका छन् । 

यता ऐरमाथि भएको आक्रमणको घटनाको अनुसन्धान गर्न माग गरिएको छ । नेपाल पत्रकार महासङ्घसहित पत्रकार सम्बद्ध विभिन्न पेशागत सङ्गठनहरूले ऐरमाथि आक्रमण गर्नेको पहिचान गरेर कारबाही गर्न माग गरेका हुन् ।

नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, फोटो पत्रकार महासंघ, नेपाल खेलकुद पत्रकार महासंघ,नेपाल कृषि पत्रकार महासंघ, समाजवादी प्रेस संगठन लगायतका सङ्घसंस्थाले घटनाको भर्त्सना गर्दै कारवाहीको माग गरेका छन् ।

महासङ्घका कैलाली अध्यक्ष हिमालय जोशीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पाललाई भेटेर घटनाको छानबिन गरी दोषीलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन पत्रकारहरुले माग गरेका छन् ।