‘बुलाकी’को गीतमा सुरक्षा र नरेनको छमछमी

‘बुलाकी’को गीतमा सुरक्षा र नरेनको छमछमी

आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको लक्ष्मण सुनार निर्देशित फिल्म ‘बुलाकी’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘नाच सुवा नाच’ बोलको लोक शैलीको गीतमा सिडी विजय अधिकारी र रचना रिमालको स्वर, गोविन्द मधुर आचार्यको शब्द रचना तथा संगीत रहेको छ । फिल्म कर्णालीको कथामा निर्माण भएकाले गीतमा पनि त्यहाँ बोलिने भाषालाई प्रयोग गरिएको छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका प्रमुख अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्त नृत्य गर्दै देखिएका छन् । फिल्ममा उनीहरु श्रीमान्(श्रीमतीको भूमिकामा छन् । गीतमा अनु पराजुली र कृष्ण रेउले पनि नृत्य गर्दै प्रस्तुत छन् । फिल्मले कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा र वैवाहिक सम्बन्धमा आउने आरोह(अवरोहलाई उतारेको छ ।

टोपेन्द्र विष्टको निर्माण रहेको ‘बुलाकी’मा विराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, सोनु सेढाइ, धनबहादुर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, प्रकाश कँडेल र सरस्वती खत्रीको पनि अभिनय छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व। मोति बिष्टको प्रस्तुति रहेको फिल्मको छायांकन डोल्पा, जाजरकोट तथा रुकुम पश्चिममा भएको हो ।

शिव ढकालको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा राज बहादुर सानेको कथा, सानेसँगै निर्मल पौडेल, निर्देशक सुनार, विराज विष्टको पटकथा तथा संवाद छ । फिल्मलाई उपत्यकामा त्रिनेत्रम् डिष्ट्रिब्यूसन र एफडी कम्पनीले उपत्यकाबाहिर वितरण गर्नेछ । बैशाख १ मा यो फिल्मको बक्सअफिसमा तीन फिल्म ‘बिहे पास’, ‘जारी’ र ‘नाईं नभन्नू ल ६’सँग प्रतिस्पर्धा हुँदैछ ।