वर्षाको वैवाहिक सम्बन्ध टुट्यो, आशिषले गरे दोस्रो बिहे

वर्षाको वैवाहिक सम्बन्ध टुट्यो, आशिषले गरे दोस्रो बिहे

यस वर्षको बैशाख ९ गते अभिनेत्री वर्षा सिवाकोटीले अमेरिका बसोबास गर्ने आशिष गेलालसँग विवाह गरेकी थिइन् । विवाहपछि हनिमुन मनाउन उनीहरु पोखरा पुगे र ४ दिनपछि आशिष अमेरिका प्रस्थान गरे । त्यसको तीनरचार हप्तामा वर्षा पनि अमेरिका उडेकी थिइन् । तर, डेढ महिना अमेरिका बसेर फर्किएपछि उनले आशिषसँगका सबै तस्विरहरु सामाजिक सञ्जालबाट हटाइन् ।

नेपाल आउनसाथ वर्षाले आशिषसँगका सम्पूर्ण तस्विरहरु हटाउनु र सामाजिक सञ्जालमा दुवैले एकअर्कालाई अनफलो गरेपछि उनीहरुको सम्बन्ध विग्रिएको चर्चा चल्न थालेको थियो । तर, वर्षाले यसबारेमा कहिल्यै मुख खोलिनन् । अन्ततः बजारमा चलेको चर्चा सत्य निस्किएको छ । वर्षासँग विवाह गरेको १० महिनामै आशिषले सोमबार झापाकी एक युवतीसँग दोस्रो बिहे गरेका छन् ।

आशिषले दोस्रो विवाह गर्नुभन्दा अगाडि वर्षासँग कानुनी रुपमा सम्बन्धविक्षेद गरेका थिए । काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा वर्षा र आशिषको धुमधामसँग बिहे भएको थियो । तर, विवाहमा वर्षा निकट फिल्मकर्मीहरु समेत उपस्थित थिएनन् । न त उनीहरुले रिसेप्सन पार्टी नै आयोजना गरेका थिए । आशिषसँग वर्षाको अमेरिका बसाईको क्रममा चिनजान भएको थियो ।

वैवाहिक सम्बन्ध टुटेपछि एक अनलाइनसँग कुराकानी गर्दै वर्षाले आफूहरु दुई महिनाअघि कानुनी रुपमा अलग भएको बताएकी छन् । परिवारको तर्फबाट मागेर छिटो विवाह भएकाले एकअर्कालाई राम्ररी बुझ्न नसकिएको र असमझदारीका कारण अलग भएको उनको भनाई छ । उनी चाँडै फिल्म ‘कामिनो’मा काम गर्दैछिन् । सम्बन्धविक्षेदपछि उनले यो फिल्म साइन गरेकी थिइन् ।