मूर्ति बनाउन भ्याइनभ्याइ

मूर्ति बनाउन भ्याइनभ्याइ

धनगढी । ‘अरूले भगवान्को पूजा गर्छन्, आरती गर्छन्, भाकल गर्छन् म त्यही भगवान्का मूर्ति बनाउँछु,’ उनी भन्छन्, ‘मूर्ति बनाएपछि जुन आनन्द मलाई प्राप्त हुन्छ सायद त्यही मूर्तिको पूजा गर्ने र मन्दिरमा चढाउनेलाई त्यो आनन्द प्राप्त हुँदैन होला ।’ उनका अनुसार बुबाबाजेबाट सिकेको कला अहिले उनका लागि जीवन धान्ने साधन मात्र बनेको छैन आत्मसन्तुष्टिको माध्यम पनि बनेको छ ।

धनगढी–महेन्द्रनगर राजमार्ग छेउको मूर्ति गाउँ बस्ने ५२ वर्षीय अमर सुनारले जीवनमा कति मूर्ति बनाए यकिन छैन, तर उनी अनुमान गर्दै भन्छन् ‘४ सय नाघ्यो होला ।’

डोटीको बाँझ पुर्ख्यौली गाउँबाट उनका बुबा महावीर सुनार २०२६ मा तराई झरे । अमर कैलालीको ओलानीमै जन्मे हुर्के । ‘हामी ६ भाइ हौं,’ सुनारले भने, ‘मेरा बाजे पनि मूर्तिकार हुन्, बुबा त आफ्नो जमानाका प्रख्यात मूर्तिकार हुन् । बुबाले बनाएका मूर्ति नभएको सुदूरपश्चिमको कुनै मठमन्दिर नै नहोलान् ।’

अमरले बनाएका मूर्ति नेपालमा मात्र होइन भारतको पलिया, लखिमपुर, दिल्ली, मुरादाबाद, कुमाउ गढवालसम्म पुगेका छन् । कापीकलम लिएर विद्यालय जाने उमेरमा उनले आफ्ना बुबासँगै हथौडी र छिनाले मूर्ति कोर्न सुरु गरेका हुन् । ५ कक्षामा पढ्दा उनले पहिलो पटक भगवतीको मूर्ति बनाएको सम्झँदै भने, ‘बुबाले पत्याउनुभएन मैले मूर्ति बनाएको भनेर सबैबाट प्रशंसा बटुलेपछि मैले विद्यालय जान छोडिदिएर यसै पेसामा लागे आज ठ्याक्कै ४० वर्ष भइसकेछ मूर्ति बनाउँदा बनाउँदै ।’

कैलालीको अत्तरिया देखि ४ किलोमिटर दूरीमा राजमार्ग छेउमै उनको घर छ । घरका चारैतिर बनिसकेका र बन्दै गरेका मूर्ति मात्र छन् । देवीदेउताका मूर्ति मात्र होइन उनी मागबमोजिम जस्ता पनि मूर्ति बनाउँछन् । ‘एउटा मूर्ति बनाउन १५ दिनदेखि तीन महिनासम्म लाग्छ,’ अमरले भने, ‘ढुंगामा कुँदेर मूर्ति बनाउँदा अझ धेरै समय लाग्छ तर ढुंगामै कुँदेर मूर्ति बनाउने माग भने निकै कम हुन्छ ।’

ढुंगामा कुँदेको मूर्ति महँगो हुने भएकाले धेरैजसो सिमेन्टको मूर्ति बनाउन लगाउँछन् उनी बताउँछन् । ‘दैनिक १५ सयदेखि २ हजारसम्म पारिश्रमिक आउँछ । त्यति भयो भने मेरा लागि धेरै हो,’ उनी भन्छन् । महिनामा सरदर उनी ५० हजारभन्दा बढी नै कमाइ गर्छन् । उनले घर बनाउन बैंकबाट लिएको १० लाख ऋण तिरे, छोराछोरी हुर्काएँ पढाएँ, अहिले पनि यसै पेसाबाट उनले घर चलाएका छन् ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै मठमन्दिरमा उनले बनाएका मूर्ति छन् । जहाँ गए पनि आफूले बनाएको मूर्ति देखेर उनी दंगदास हुन्छन् । ‘आफ्नो कलाको पूजा भएको देख्दा कसलाई खुसी नलाग्ला र रु’ मूर्तिकार अमर भन्छन्, ‘कलाको पूजा हुन्छ सिर्जना गर्ने कलाकारको उपेक्षा ‘भारतको बंगाल र विहारबाट आएका मुस्लिम कलाकारहरूलाई मन्दिरभित्रै लगेर मूर्ति बनाउन दिइन्छ तर हामी हिन्दु भएर पनि मन्दिरभित्र प्रवेश दिइँदैन,’ उनले भने, ‘कहिलेकाहीँ मन विचलित हुन्छ, समय आउला यो भेदभाव पनि कुनै दिन हट्ला भन्ने आशा गरेको छु ।’

उनलाई आफूपछि पुस्तैंनी पेसा हराएर जाने चिन्ता धेरै छ । भाइको ११ वर्षीय छोरालाई उनले पछिल्लो समय मूर्ति बनाउने काममा लगाउन थालेका छन् । भन्छन्, ‘यसले चासो राखेको छ हेरौं पुर्खाको नासो यसलाई हस्तान्तरण गर्न सकिन्छ कि ?’

११ वर्षीय सुमन पनि मूर्ति बनाउन निकै उत्साहित छन् । ‘बाजेभन्दा राम्रो ठूलो बुबाले बनाए, म त्योभन्दा पनि राम्रो मूर्ति बनाउने भनेर लागेको हुँ,’ सुमनले भने, ‘विद्यालय पनि जान्छु, पढाइ पनि गर्छु मूर्ति पनि बनाउँछु ।’ अमरका छोरा भने यो पेसामा लागेनन् । उनीहरू भारतमा रोजगारी गर्छन् । उनका अरू ५ भाइका छोराले पनि यो पेसा अपनाएनन् सुमनबाहेक ।

सुनको काम गर्ने जातीय पेसा त्यागेर उनले अपनाएको मूर्ति बनाउने पेसामा अहिले थोरै छन् सुदूरपश्चिममा । त्यसैले अमर सधैं व्यस्त हुन्छन् । समयमा अर्डर नै पूरा गर्न सक्दैनन् । आफूले बनाएको मूर्तिमध्ये सबैभन्दा राम्रो लागेको मूर्ति कुन हो ? उनले नेपाली सेनाले बनाउन लगाएको पृथ्वीनारायाण शाहको मूर्ति देखाउँदै भने ‘नेपाल बनाउनेको यो मूर्ति बनाएजस्तो सन्तुष्टि अरू कुनै पनि मूर्ति बनाएर भएनजस्तो लाग्छ ।’ कलाकारलाई आफ्ना सबै सिर्जना राम्रै लाग्छन् तर ‘बडामहाराज’ को यो मूर्ति बनाउन पाउँदा भने बेग्लै सन्तुष्टि पाएको उनले बताए ।