उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै

उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति चयनका लागि आज (शुक्रबार) मतदान हुँदैछ। निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने जानकारी दिएको छ। 

उपराष्ट्रपति चयनका लागि संघीय संसद्‌ (प्रतिनिधि सभा र राष्ट्रिय सभा) तथा प्रदेश सभाका सदस्यहरुले मतदान गर्न पाउँछन्। 

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले आयोग र निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। 

उपराष्ट्रपतिको प्रतिस्पर्धामा ४ जना उम्मेदवार छन्। जसमध्ये १ जनाले भने आफ्नो उम्मेदवार फिर्ता लिएको घोषणा गरेका छन्। 

१० दलसहितको सत्ता गठबन्धनबाट ३ जनाको उम्मेदवारी छ। जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी छ। यद्यपि प्रमिला कुमारी यादवले पार्टीका नेता रामसहाय प्रसादलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन्। 
नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार छन्।