‘परालको आगो’का निर्देशक प्रताप सुब्बाको निधन

‘परालको आगो’का निर्देशक प्रताप सुब्बाको निधन

मौलिक नेपाली फिल्मका प्रणेता मानिने निर्देशक प्रताप सुब्बाको निधन भएको छ । दार्जिलिङमा बस्दै आएका उनको अस्पतालमा उपचारको क्रममा बिहीबार विहान ७५ वर्षको उमेरमा निधन भएको हो । सन् १९४७ मा दार्जिलिङमा जन्मिएका सुब्बाले ७ वटा फिचर फिल्म, ६ वटा वृतचित्र, ५ वटा भिडियो फिल्म, १३ वटा टेलिफिल्म र ५ वटा नाटकको निर्माण तथा निर्देशन गरेका छन् ।

दार्जिलिङबाट ‘परालको आगो’ बनाएका प्रताप सुब्बाले ‘बाँच्ने चाहने’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’, ‘भीष्म प्रतिज्ञा’ जस्ता फिल्मको निर्देशन गरेका छन् । ‘परालको आगो’ नेपालबाहिर बनेको पहिलो मौलिक फिल्म थियो । ४० को दशकमा नेपाल आएका सुब्बा केही फिल्म र टेलिफिल्म बनाएर ५० को दशकमा दार्जिलिङ फर्किए । त्यसपछि उनले फिल्म निर्माण तथा निर्देशन गरेका छैनन् ।

अघिल्लो वर्ष नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९निफ०को चौंथो संस्करणमा फिल्म निर्माण तथा निर्देशनको अनुभव साट्न नेपाल आउने क्रममा उनले अहिले नेपाली फिल्महरुमा अस्वस्थ प्रतिस्पर्धा रहेको गुनासो व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘पहिले फिल्महरुबीच स्वस्थ प्रतिस्पर्धा थियो । अचेल फिल्ममा अस्वस्थ प्रतिस्पर्धा छ। अनावश्यक राजनीतिक हस्तक्षेप हुन थालेका छन् ।’

निर्देशक प्रकाश सायमीका अनुसार, प्रताप सुब्बाले ‘परालको आगो’भन्दा अघि ‘सपना कतिपय’ फिल्मको काम सुरु गरेका थिए । तर, त्यो फिल्म बन्दा बन्दै रिल जलेर नष्ट भएपछि सुब्बाले गुरुप्रसाद मैनालीको कथामा ‘परालको आगो’ निर्देशन गरेको सायमीले बताएका छन् । उनी प्रताप सुब्बालाई नेपाली फिल्म क्षेत्रले पाएको विएस थापा र प्रकाश थापापछिको महत्त्वपूर्ण निर्देशक मान्छन् ।