‘धोकेबाज हौ तिमी’ गीतको जस लिन शिव र एलिनाबीच होड चलेको हो ?

‘धोकेबाज हौ तिमी’ गीतको जस लिन शिव र एलिनाबीच होड चलेको हो ?

काठमाडौं । ‘धोकेबाज हौ तिमी’ गीतको फिमेल भर्सन यतिबेला सबैभन्दा बढी भाइरल हुनेमध्ये पर्छ । टिकटकदेखि फेसबुक र इन्स्टाग्रामको रिल्ससम्म यो गीत व्यापक सेयर भइरहेको छ । नेपाली मात्र होइन, विदेशीले समेत यो गीतको कन्सर्टका दृश्यलाई सेयर गरिरहेका छन् ।

यो गीतलाई लिएर गायिका एलिना चौहान समेत चर्चामा छिन् । पछिल्लो समय जिल्ला जिल्लामा भइरहेका मेला महोत्सवमा समेत यो गीत चर्चामा छ । कतिपयले एलिनालाई ‘धोकेबाज हौ’ गायिकाको रुपमा समेत चित्रण गर्न थालेका छन् । राजनीतिक सन्दर्भमा समेत गीतलाई लिएर ट्रोल बनिरहेको छ ।

करिब दुई वर्षअघि नै शिव परियारको आवाजमा रिलिज भएको मेल भर्सनभन्दा पछि एलिनाको स्वरमा आएको फिमेल भर्सन चर्चामा आएको छ । तर यो गीतले शिवलाई समेत पुनः चर्चामा तानेको छ । शिवले ‘टाइटलमा नजानुस् है कृपया अन्तर्वार्ता राम्रो छ’ भन्दै एक टेलिभिजन अन्तर्वार्तालाई सेयर गरेका छन् जसको टाइटल छ  ‘धोकेबाज गीत मैले गाएको हो । धोकेबाजले मलाई फेरि चर्चामा ल्यायो ।’

शिवको उक्त टेलिभिजन अन्तर्वार्ता हेर्दा लाग्छ, ‘धोकेबाज हौ तिमी’ गीतलाई लिएर शिव र एलिनाबीच अप्रत्यक्ष रुपमा जस लिने होड चलेको देखिन्छ । शिवले खुलेर नभनेपनि उनले अन्तर्वार्तामा आफूले गाएको उक्त गीतको मेल भर्सनले अहिले पनि चर्चा बटुलेको बताएका छन् । साथै, एलिनाले गाएको गीत हिट हुनुमा कन्सर्टमा देखिएको दृश्य र एक्सप्रेसन प्रमुख रहेको अर्थ्याउन खोजेका छन् । साथै उनले टाइमलाइनमा भिडियो पनि सेयर गरेका छन् ।

शिवको स्वर रहेको उक्त गीतको मेल भर्सनलाई युट्युबमा ८३ लाख पटक हेरिएको छ भने एलिनाको गीतलाई २ करोड ३९ लाख पटक हेरिएको छ ।