‘कबड्डी ४’को रेकर्ड अब कसले तोड्ला ?

‘कबड्डी ४’को रेकर्ड अब कसले तोड्ला ?

‘छक्का पन्जा ३’ले बनाएको १८ करोडको ऐतिहासिक रेकर्डलाई तोड्दै यो बर्ष रिलिज भएको फिल्म ‘कबड्डी ४’ले नयाँ रेकर्ड बनायो । बक्स अफिसमा यो फिल्मले २२ करोडको ग्रस कलेक्शन गरेको निर्माताको आँकडा छ । 

यो उच्च रेकर्डलाई अब कसले तोड्ला भन्ने खालका चर्चा पनि हुने गरेका छन् । फागुण १९ गतेबाट रिलिजमा आएको फिल्म ‘छक्का पन्जा ४’ले २२ करोडको रेकर्ड तोड्ने अड्कल लगाइएको थियो । 

तर, सुरुवाती दिनमा फिल्म ‘छड्के २’सँग शोज बाँडफाँड गर्नुपरेका कारण ‘छक्का पन्जा ४’ले ‘कबड्डी ४’ले जस्तै साढे २ करोड माथिको ओपनिङ गर्न सकेन । यसपछिका दिनको ट्रेन्डलाई हेर्ने हो भने ‘कबड्डी ४’को जस्तो उच्च व्यापार ‘छक्का पन्जा ४’को छैन । 

फिल्मले बिदाको दिनमा राम्रो व्यापार गरिरहेको छ । तर, बिदा बाहेक अन्य दिनमा तेश्रो सातासम्म आइपुग्दा फिल्मको व्यापारमा गिरावट आएको छ । 

‘छक्का पन्जा ४’लाई नयाँ फिल्म नआउनुको फाइदा भने गज्जबले मिलिरहेको छ । तर, पनि फिल्मको व्यापार तेश्रो सातासम्म आइपुग्दा अपेक्षा गरे अनुसारको भने होइन । 

विगतको ट्रेन्डलाई फलो गर्ने हो भने ‘छक्का पन्जा ३’ले दैनिक रुपमा नै सुखद व्यापार गरहेको थियो । त्यही अनुसारको ट्रेन्ड ‘छक्का पन्जा ४’को भने छैन । 

यसपटक, निर्माता तथा कलाकार दीपकराज गिरीले राजनीतिक कथावस्तुलाई मात्र बढी केन्द्रमा राख्दा दर्शकले फिल्मबाट खोजे जस्तो खुराक पाएनन् । जसको असर, यसको व्यापारमा परेको हो । 

‘छक्का पन्जा ४’ यो बर्षको दोश्रो बम्पर हिट फिल्म बन्ने पक्का छ । तर, ‘कबड्डी ४’को रेकर्ड तोड्नकै लागि ‘जय माग्ने राजा’बाट अन्तिम समयमा नाम परिवर्तन गरिएको थियो । आजका दिनसम्मको ट्रेन्डलाई फलो गर्ने हो भने, फिल्मले कुनै नयाँ रेकर्ड बनाउने संभावना भने कम छ ।