चलचित्र विकास बोर्डको सदस्यमा पीडित र अधिकारी नियुक्त

चलचित्र विकास बोर्डको सदस्यमा पीडित र अधिकारी नियुक्त

चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक केएल पीडित र सञ्चारकर्मी तथा निर्माता रवि अधिकारी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई २ वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । दुवैले तालुकवाला निकाय सूचना मन्त्रालयबाट नियुक्तिको पत्र बुझिसकेका छन् । पीडित दाङ निवासी हुन् भने अधिकारीको स्थायी घर चितवन हो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष समेत रहेका पीडितले थारु भाषाको फिल्म ‘भुइँयार’ र ‘लावाजुनी’को निर्देशन गरेका छन् । २०७७ सालमा चलचित्र विकास बोर्डले उनलाई लुम्बिनी प्रदेशमा फिल्म छायांकनस्थल निर्माणको सम्भाव्यता अध्ययन समितिको सदस्यमा समेत नियुक्त गरेको थियो । पीडित गीतकार पनि हुन् । उनले ‘आह्वान’ नामक गीति एल्बम निकालेका छन् ।

त्यस्तै, नेकपा माओवादी निकट सञ्चारकर्मी अधिकारी विगत डेढ दशकदेखि मनोरञ्जन पत्रकारितामा सक्रिय छन् । उनी चलचित्र पत्रकार संघ चितवान शाखाको निर्वतमान अध्यक्ष समेत हुन् । ओस्कारका लागि नेपालबाट सिफारिस भएको फिल्म ‘पञ्चायत’को निर्माता समेत रहेका अधिकारी फिल्म ‘बाबु कान्छा’मा कार्यकारी निर्माता थिए । बोर्डमा अझै एक सदस्य नियुक्त हुन बाँकी नै छ ।