सात सयवटा मुद्दा खेपिरहेकी अभिनेत्री

सात सयवटा मुद्दा खेपिरहेकी अभिनेत्री

बलिउड अभिनेत्री कंगना रनोट ३६ वर्षकी भइन्। उनी चर्चामा आइरहने अभिनेत्री हुन्। कंगनाले बलिउडका ४ राष्ट्रिय अवार्ड जितेकी छन्। शबाना आजमीपछि सबैभन्दा धेरै राष्ट्रिय अवार्ड जित्ने अभिनेत्री कंगना नै हुन्। तिखो स्वभावकी कंगनाविरुद्ध देशका विभिन्न सहर र अदालतमा ७ सय मुद्दा दर्ता रहेको भास्कर दैनिकले उल्लेख गरेको छ। 

कंगना खान हिरोजसँग काम नगरेका कारण पनि चर्चामा रहने गर्छिन्। अरुले स्क्रिन सेयर गर्न मरिहत्ते गर्ने हिरोमा पर्छन्( सलमान, शाहरुख तथा आमिर खान। कंगना भने उनीहरुसँग काम गर्दिनन्। शाहरुखसँगको ‘जिरो’ र सलमानसँगको ‘सुल्तान’ दुवै फिल्ममा काम गर्न अस्वीकार गरेपछि बलिउडमा कंगनाले खान हिरोसँग फिल्म खेल्न नचाहेको दाबी गरियो। 

कंगनालाई जिद्दी र झगडालु नायिकाका रूपमा पनि बलिउडमा चित्रण गरिन्छ। आफैँ संघर्ष गरेर फिल्म उद्यागमा आफ्नो स्पेस बनाएकी कंगनाले नातावादको विरुद्धमा झण्डा उठाएर सिंगो उद्योगविरुद्ध अभियान चलाइन्। करण जोहरदेखि अमिताभ बच्चनसम्म कंगनाको आक्रोशपूर्ण टिप्पणीबाट जोगिन सकेनन्। 

कंगनाले अरुको ब्यानरको भर छाडेर आफ्नै फिल्म प्रोडक्सन हाउस खोलिन्। अभिनयबाट फिल्म यात्रा थालेकी कंगनाले अभिनेत्रीको मात्रै होइन, निर्माता र निर्देश्कको पनि परिचय बनाइन्। कंगनाद्वारा निर्देशित ‘इमर्जेन्सी’ यसै वर्ष रिलिज हुँदै छ, जसमा कंगना आफैँ पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन्। 


सपनाका लागि विद्रोह
कंगना सानैबाट विद्रोही स्वभावकी थिइन्। उनले सानैमा रुढिवादी सोचविरुद्ध विद्रोह गरिन्। उनको जन्म हिमाचल प्रदेशको मण्डी जिल्लानजिकै भाम्बलाको एक साधारण राजपुत परिवारमा भएको हो। उनका परिवारको चाहना छोरीलाई डाक्टर बनाउने थियो। तर, कंगना आफ्नो जिन्दगी केही फरक होस् भन्ने चाहान्थिन्। 

सानैबाट मोडल बन्ने सपना देख्दै हुर्किएकी कंगनाको विपक्षमा परिवार थियो। सपनाका लागि कंगनाले आफ्ना पिताको थुप्रैपटक पिटाइ खाएकी छन्। उनकी आमाले पनि उनलाई कैयौँपटक गिल्ला गरिन्। तर कंगना यी सबै कुरासँग लडिन्। परिवारसँग विद्रोह गरिन् र अभिनय गर्न दिल्ली पुगेकी कंगनाले त्यहाँ पनि आफ्ना सपनाको लागि सम्झौता गरिनन्। 

परिवार छाडेर हिँडेपछि उनकी आमा फोन गरेर भन्थिन्, ‘बाबा सधैँ तिम्रो चिन्ता गर्नुहुन्छ, रातभर निदाउँदैनन्। तिम्रो बुवालाई केही भयो भने त्यसको जिम्मा तिमीले लिनुपर्छ। त्यहाँ कसैले तिम्रो ‘ब्लु फिल्म’ बनाउँछ, थाहा पनि हुँदैन।’ छिमेकका मान्छेले पनि उनलाई विभिन्न कुरा भनेर तर्साउन खोज्थे। कंगनाले जीवनको यो कुरा सिमी ग्रेवालसँगको कुराकानीका क्रममा बताएकी हुन्। 

दिल्लीमा पनि उनलाई संघर्ष गर्न सजिलो थिएन। त्यहाँ के हुन्छ यसै भन्न सक्ने अवस्था थिएन। उनले दिल्ली गएर एलिट मोडलिङ एजेन्सीमा काम सुरु गरिन्। एजेन्सीका केही असाइनमेन्टपछि कंगनालाई लाग्यो मोडलिङ क्षेत्रमा आफूले खोजेको रचनात्मकता छैन।

त्यसपछि उनी थिएटरतिर लागिन्।

उनले अस्मिता थिएटर ग्रुपबाट अभिनय करियर सुरु गरिन्। चर्चित थिएटर निर्देशक अरविन्द गौरबाट उनले अभिनयको तालिम लिइन्। जीवनको यो चरणमा पनि कंगनाले निकै संघर्ष गर्नुपरेको थियो। परिवारबाट आर्थिक सहयोग भएन। आम्दानीको कुनै स्रोत नहुँदा रोटी र अचार खाएर गुजारा चलाउनुपरेको थियो। तर पनि उनको संघर्ष जारी रह्यो।

कंगनाले फिल्म ‘ग्याङ्स्टर’बाट बलिउडमा डेब्यु गरिन्। सुरुवाती यात्रा उतारचढावयुक्त थियो। अंग्रेजी नजानेको भन्दै धेरैले उनको खिल्ली उडाए तर उनले यसलाई सकारात्मक रूपमा लिइन् र अंग्रेजी सिकेर आफूलाई प्रमाणित गरिन्।

‘म हिरोको साइड किक बन्न चाहन्नँ’
सुरुदेखि नै फिल्म नायकको भरमा छाडिन्छ। नायककै कारण नायिका पनि चल्छन् भनिन्थ्यो। सिमी ग्रेवालसँगको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘फिल्म उद्योग पुरुषप्रधान छैन भन्ने थियो, तर म गलत थिएँ। समाजमा जस्तै यहाँ पनि पुरुषको वर्चस्व छ।’

कंगनाले एकपटक भनेकी थिइन्, ‘म हिरोको साइड किक बन्न चाहन्नँ। फिल्ममा ठूला हिरो हुँदा तिमी त शो पिस मात्र हौ। म तीनै खानसँग तब मात्रै फिल्म गर्छु जब मेरो भूमिका उनीहरुको बराबर हुन्छ।’

सायद यही कारण कंगनाले फिल्म उद्योगका शीर्ष कलाकार सलमान, शाहरुख र आमिर खानसँग फिल्ममा काम गर्न अस्वीकार गरिरहेकी छन्। कंगनाले यो पनि भनेकी छन्, ‘जब मलाई आफ्नो करियरमा ठूलो फिल्म ब्रेक चाहिएको थियो, कोही पनि मसँग काम गर्न चाहँदैनथे। आज म सफलताको शिखरमा छु, त्यसैले शीर्ष कलाकारहरु पनि मसँग स्क्रिन सेयर गर्न चाहन्छन्।’

सन् २०२१ म कंगनाले मणिकर्णिकाका लागि ६७औँ राष्ट्रिय चलचित्र पुरस्कार पाएकी थिइन्।

प्रेम र विवादित बयान
कंगना प्रेम र बयानका कारण पनि चर्चामा रहिन्। उनको प्रेम जीवन सधैँ चर्चाको विषय बन्यो। जब कंगना मुम्बईमा संघर्ष गरिरहेकी थिइन्, तब उनको नाम आदित्य पंचोलीसँग जोडियो। उनी कंगनाभन्दा २२ वर्ष जेठा, विवाहित र दुई सन्तानका पिता थिए। उनले कंगनालाई नयाँ घर किनेका थिए, जहाँ आदित्य उनलाई भेट्न जान्थे। दुवै लिभ इन रिलेसनसिपमा पनि थिए। पछि कंगनाले आफूलाई शारीरिक दुर्व्यवहार गरेको आरोप लगाउँदै आदित्यसँगको सम्बन्ध तोडिन्। 

त्यसपछि कंगनाको नाम शेखर सुमनका छोरा अध्यायनसँग जोडियो। फिल्म ‘राज २’को सेटदेखि नै यी दुईबीच निकटता सुरु भएको थियो। तर एक वर्षपछि नै ब्रेकअप भयो। ब्रेकअपपछि अध्यायनले एक अन्तर्वार्तामा कंगनाले आफूलाई कुटपिट र दुर्व्यवहार गर्ने गरेको बताएका  थिए। उनले कंगनाविरुद्ध कालो जादू गरेको आरोप पनि लगाए।

सन् २०१० मा कंगनाले अजय देवगनसँग फिल्म ‘वन्स अपन अ टाइम इन मुम्बई’मा काम गरिन्। यो फिल्मपछि यी दुई नजिकिए। दुवैको अफेयरको चर्चा सिंगो उद्योगमा भएको थियो। उनीहरुको निकटता देखेर अजयकी श्रीमती काजोल रिसाइन्, त्यसपछि अजय कंगनाबाट टाढा भए। अजय टाढिएपछि कंगनाले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘विवाहित पुरुषसँग डेट गर्नु मेरो जीवनको सबैभन्दा ठूलो गल्ती थियो।’ 

एक समय कंगनाको नाम निकोलस लाफर्टीसँग पनि जोडियो। उनी बेलायती डाक्टर थिए। निकोलस पनि कंगनालाई भेट्न धेरैपटक मुम्बई आएका थिए। उनीहरु केही समय सँगै देखिए। तर, कंगनाले निकोलससँगको सम्बन्ध पनि जोगाउन सकिनन्। 

कंगनाको सबैभन्दा विवादित अफेयर ऋतिक रोशनसँग भयो। यी दुईको भेट सन् २०१३ मा ‘क्रिस ३’ को सेटमा भएको थियो। जतिबेला ऋतिकले विवाह गरिसकेका थिए। केही समयपछि दुवैले एकअर्कालाई डेट गर्न थाले तर उनीहरुले यो कुरा मिडियाबाट लुकाएर राखे। सन् २०१४ मा ऋतिकले पनि कंगनालाई विवाहको प्रस्ताव राखेका थिए। तर यी दुईको ब्रेकअप भयो। ऋतिकसँगको ब्रेकअप हुनुको कारण उनको अर्की अभिनेत्रीसँगको सम्बन्ध रहेको कंगनाले बताएकी थिइन्। 

सन् २०१६ मा ऋतिकले कंगनाविरुद्ध साइबर स्टकिङको मुद्दा दायर गरेका थिए। कानुनी सूचनामा कंगनाले उनलाई १ हजार ४३९ मेल गरेको उल्लेख छ। आरोप अस्वीकार गर्दै कंगनाले काउन्टर केस गरेकी थिइन्। मुम्बई प्रहरीले प्रमाणको अभावमा मुद्दा बन्द गरेको थियो। विभिन्न कारणकंगनालाई ‘कन्ट्रोभर्सी क्विन’का रूपमा चर्चा गरिन्छ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि कंगनाले नातावादविरुद्ध हमला गरिन्। उनले धम्की, बहिष्कार र फिल्म माफियाबाट सुशान्तको ज्यान खतरामा थियो भनिन्। सुशान्त प्रकरणमा लागुऔषधको कुरा जोडिएपछि उनले सबै बलिउड स्टारलाई ड्रग्स टेस्ट गराउन भनेकी थिइन्।

सुशान्तको मृत्युपछि एक न्युज च्यानललाई दिएको अन्तर्वार्तामा कंगनाले जावेद अख्तरले आफूलाई घरमा बोलाएर धम्की दिएको बताएकी थिइन्। बयान सार्वजनिक भएपछि जावेद अख्तरले आफ्ना वकिल निरञ्जन मुन्दर्गीमार्फत २ नोभेम्बर २०२० मा उजुरी दर्ता गराएका थिए। यसमा उनले कंगनाविरुद्ध मानहानिको अभियोग लगाए।

कंगनाविरुद्ध ‘दिद्दा स् द वॉरियर क्वीन ऑफ कश्मीर’ नामक पुस्तकका लेखक आशिष कौलले कथा चोरेको आरोप पनि लगाएका थिए। कंगनाबाहेक उनकी बहिनी रंगोली चन्देल, भाइ अक्षत र निर्माता कमल कुमार जैनविरुद्ध पनि मुद्दा दर्ता गरिएको थियो। कंगनाले जनवरीमा ‘मणिकर्णिका रिटर्नस्– द लिजेन्ड अफ दिद्दा’ बनाउने घोषणा गरेकी थिइन्। यस सम्बन्धमा आशिषले प्रतिलिपि अधिकार ऐनअन्तर्गत मुद्दा दर्ता गराएका थिए।

कंगनाले पन्जाबमा कृषि विधेयकको विरोध गरिरहेका किसानलाई आतंकवादी भन्दै देशलाई दुई भागमा बाँडिरहेको बताएकी थिइन्। उनले रिहानाको ट्विटमा प्रतिक्रिया दिँदै यी सबै कुरा भनेकी थिइन्। कंगनाको यो बयानपछि उनीविरुद्ध कर्नाटकमा आपराधिक मुद्दा दर्ता भएको थियो।

कंगनाले बंगाल विधानसभा चुनावको नतिजापछि भएको हिंसाबारे पनि उत्तेजक बयान दिएकी थिइन्। कंगनाको यो बयानपछि मे २०२१ मा तृणमूल कांग्रेसका प्रवक्ता रिजु दत्तले कोलकातामा उनीविरुद्ध उजुरी दिएका थिए।

कंगनाले ट्विट गर्दै भनेकी छन्, ‘मविरुद्ध जम्मा ७०० मुद्दा दर्ता छन्, जसलाई मैले एक्लै सम्हाल्नुपरेको छ।’