चैत १३ देखि काठमाडौँमा ‘बुद्ध थिएटर फेस्टिभल’

चैत १३ देखि काठमाडौँमा ‘बुद्ध थिएटर फेस्टिभल’

यही चैत १३ गतेदेखि काठमाडौँमा ‘बुद्ध थिएटर फेस्टिभल’को तेस्रो संस्करण हुने भएको छ। काठमाडौँको जमलस्थित सांस्कृतिक संस्थानमा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ। 

गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको महोत्सवका निर्देशक पुस्कर गुरुङले जानकारी दिए। 

उनका अनुसार पाँच दिनसम्म चल्ने फेस्टिभलमा नेपालका ६ वटा नाटक मञ्चन हुनेछन। साथै फेस्टिभलमा माया थापाको निर्देशनमा तयार नृत्य नाटिका ‘चण्डालिका’ पनि मञ्चन हुनेछ। 

साथै महोत्सवको उद्घाटन समारोहमा रंगकर्मी अनुप बराललाई ५० हजार धनराशिको ‘डबली अवार्ड’ प्रदान गरिने गुरुङले बताए।

यसअघि फेस्टिभलमा विदेशी नाटक पनि समावेश गराइएको थियो तर भनेजस्तो राम्रो कथावस्तु भएका विदेशी नाटक आएकाले यसपटक नेपाली नाटक समेटिएको उनको दाबी छ।

यो फेस्टिभल बागमती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थिएटरको आयोजनमा हुन लागेको हो।