‘ऐँठन’सँग विवेकका पाँच वर्ष

‘ऐँठन’सँग विवेकका पाँच वर्ष

पाँच वर्षमा के–के बदलिँदा रहेछन्?

लामो समयको लेखन साधनाबाट बाहिर निस्किएपछि विवेक ओझाले वरपर नियाले।

उपन्यास सुरु गर्दा पहिलो पटक विदेश गएका साथीले फर्किएर घर मात्र ठडाएनन्। पुनः दोस्रो उडान पनि भरिसकेछन्।

कोही साथीले व्यवसाय गरेर अलग्गै ब्राण्ड स्थापित गरिसकेछन्। 

‘धेरै कुरा बदलिसकेछन्। आफू भने एउटै उपन्यासमा लागियो,’ ‘ऐँठन’ले थिचेको कुरा विवेकले हाँसो– हाँसोमै सुनाए।

उसो त उनी यतिबेला पाँच वर्षपछि ढुक्कको श्वास फेरिरहेछन्। ठूलो भारी बिसाएर फेरिने सन्चो श्वासजस्तो। यसअघिसम्म उनको श्वास ‘ऐँठन’मा अल्झिएको थियो।

द्वन्द्वपीडितहरूको ऐँठन, जो अझै पनि टाउकोमा गोलीका छर्रा बोकेर हिँडिरहेका छन्। ‘जनयुद्ध’मा आफ्ना गुमाएकाहरूको ऐँठन, जो अझै पनि आँसुका कर्णाली काठमाडौंको माइतीघरमा बगाइरहेका छन्। 

विवेकलाई सधैंभरि लागिरह्यो, ‘मभित्रको सचेतताले प्रश्न उठाउनुपर्छ।’

त्यसकारण उनी ‘जनयुद्ध’लाई क्यानभास बनाएर उपन्यास लेखिरहेका थिए–‘ऐँठन’। 

शनिबारबाट पुस्तक पाठकका हातमा पर्नेछ, समीक्षा पाउनेछ। पढेपछि कसैले युद्धविरोधी भन्लान्, कसैले मानवतावादी दृष्टिकोणले लेखिएको कथा !

‘मलाई भने आफ्नो कुरा भन्नु थियो। बाँकी पाठकले केलाउनेछन्,’ विवेक भन्छन्।

लेखकको लेखन साधना र तपस्याबारे जान्ने उत्सुकताले अनामनगरको एक क्याफेमा विवेकसँगको भेट जुरायो। भेटमा उनले  ‘ऐँठन’ यात्राबारे रोचक सिलसिला सुनाए।  

लेखकको ‘ऐँठन’ यात्राको प्रारम्भ २०७० सालबाटै हुन्छ। त्यतिबेला विवेकका हातमा कथा संग्रहका पाण्डुलिपि तयार थिए। तर, उनले कथासंग्रहलाई थन्क्याए। बरु ०७२ पछाडि लेखे– ‘ऐलानी।’

वादी महिलाको कथामाथि लेखिएको उपन्यासले चर्चासँगै विवादको पनि सामना गर्न पुग्यो। ‘ऐलानी’ प्रकाशित भएसँगै विवेकले सोचेका थिए, ‘अब दोस्रो पुस्तक निकाल्छु।’

थन्किएका कथाहरू थिए। तिनलाई सम्पादन गर्ने क्रममा उनी पाँचौ कथामा अडिए। त्यो युद्धमाथि लेखिएको स्वैरकाल्पनिक कथा थियो। कथामाथि उनको मोह जाग्यो। विवेकले त्यसलाई उपन्यासको आकारमा कल्पना गरे। त्यसपछि निर्क्योल, ‘कथा हैन, यसमाथि उपन्यास लेख्छु।’

उपन्यास लेख्नु सहज थिएन। त्यसका लागि थुप्रै घटना चाहिन्थे। अध्ययन र अनुसन्धान चाहिन्थे। पुनः कथालाई थन्क्याएर उनी आफ्नो गाउँ टीकापुर गए। घर जाँदा मष्तिष्कमा उपन्यासको धमिलो स्केच थियो। गाउँमा विवेकका एकजना साथी ठेक्कापट्टाका काम गर्थे। ती साथी कामकै सिलसिलामा ट्रकमा दार्चुला जाँदै थिए। उनी साथीसँगै ट्रक चढेर दार्चुला हानिए। त्यसपछि अछाम।

०५८ साल फागुनमा मंगलसेनको भिडन्तमा थुप्रै प्रहरीको मृत्यु भएको थियो। विवेकले तत्कालीन घटनास्थलमै पुगेर अध्ययन गरे। त्यो घटनामा मारिएकामध्ये एकजना उनकै गाउँका मानिस पनि थिए।

‘सानो छँदा अछामबाट टीकापुर ल्याइएको शव मलाई अझै याद छ। गालाको हड्डी बाहिर देखिएको थियो। परिवारले शव छुट्याउन पनि सकेका थिएनन्,’ उनी सम्झन्छन्।

त्यहाँको अध्ययन सकेर उनी सुर्खेतको सिमाना पुगे। त्यहाँ एकजना साथी नापी विभागका कर्मचारी थिए। कामको सिलसिलामा साथी जहाँ–जहाँ जान्थे, विवेक त्यहीँ–त्यहीँ पुग्थे। यसरी घुम्दै घुम्दै दाङ पुगे विवेक। जब दाङको शान्तिनगर भन्ने ठाउँ गए, आँखा अडियो।

‘नाम शान्तिनगर भए पनि, अशान्त कथाहरू छन्। बिम्बात्मक रुपमा रमाइलो लाग्यो ठाउँ। लोकेसेन यहीँको सेट गर्ने निर्णय गरेँ,’ विवेक भन्छन्।

यसरी घुम्ने क्रममा उनले विविध पात्र भेटेका थिए। एउटा डाँडामा उकालो चढ्दै गर्दा विवेकले सेनाका रिटायर्ड अधिकारी भेट्टाए। ढुंगामा अडेस लागेर गफिँदै गर्दा रिटायर्ड सैनिकले हास्यास्पद कुरा सुनाए, ‘माओवादीले युद्ध जित्नुको कारण त्यहाँ विषकन्या पठाएको थियो।’

यसरी युद्धमाथि सिर्जना गरिएका मिथक पनि उनका लेखनका खुराक थिए। पूर्व–छापामार, पूर्व–सैनिक र युद्ध भोगका आममान्छेसँग भेटेपछि लेखन सामग्री बटुलेर उनी काठमाडौं फिरे। त्यसपछि बाँकी अध्ययन गरे। युद्धमाथि लेखिएका आख्यान र गैर–आख्यान पढे। युद्धका प्रवृत्ति केलाए। अनि बल्ल लेख्न सुरु गरे।

‘युद्धकै कथा किन पछ्याए त विवेकले? ’

अवचेतन मनमा जकडिएर बसेका केही घटना छन्, जुन अहिले पनि सम्झिरहन्छन् विवेक। आँखै अगाडि युद्ध नदेखे पनि कानले गोलीका भयानक आवाज बाल्यकालमा सुनेका छन्।

‘टीकापुरमा सत्तापक्षको मान्छे आउँदैछ भने माओवादी फेक फायर गर्थे। रातभर गोली चलिरहन्थे। माथि हेलिकोप्टर घुमिराख्थ्यो। हामी खाटमुनि लुक्थ्यौँ,’ उनी सम्झन्छन्। 

बाले भोगेका दुःख पनि विवेकका सम्झनामा मडारिइरहन्छन्। उनका शिक्षक बा पढाउन पहाड उक्लिएका थिए।

स्कुलमा बालाई कक्षाकोठाबाट निकालेर धान, गहुँ काट्न लगाइन्थ्यो। मानसिक यातना दिलाइन्थ्यो। ‘बाको पेन्सन हुन ४ वर्ष बाँकी थियो। यातना सहन नसकेर जागिर छाड्नुभयो। त्योभित्रको असर पनि मभित्र नजानिँदो थियो कि१,’ विवेक अनुमान गर्छन्।

त्यतिमात्र हैन, युद्धका रापले पोलेका लाखौं मान्छेको भोगाइले पनि आफूलाई युद्ध उपन्यास लेख्न झकझकाएको बताउँछन्, विवेक।

साढे २ वर्षमा ‘ऐँठन’को पहिलो ड्राफ्ट सकियो। लेखनको दोब्बर सकस त्यसपछि सुरु भयो। दर्जनौं पटक पुनर्लेखन गरे 

कतिपय क्षण यस्ता थिए, ल्यापटपको अगाडि बसेर घण्टौँसम्म घोत्लिँदा पनि एक अक्षर लेख्न सकिन्न थियो। त्यो सकसलाई उनी शब्दले भन्न सक्दैनन्। तर, कुनै बेला सिन र डाइलग सपनामा पनि आए। त्यतिबेला बिहान २ बजे उठेर लेखे। 

लेखिमात्र रहनु सहज कुरा हैन। जीवनयानका कुरा महत्त्वपूर्ण हुन जान्छ। तर, परिवारले उनको लेखन हुटहुटीमा थप उत्साह दियो।

आफन्तहरूले सोध्थे, ‘के गर्छौ ?’

भन्थे, ‘लेख्ने काम गर्छु।’

फेरि प्रतिप्रश्न गर्थे, ‘लेख्नेबाहेक अरु ?’

त्यसको जवाफ दिनु साटो विवेक कमै भेटघाटमा निस्कन्थे। ‘ती कुराहरूलाई नजरअन्दाज गरेर म लेखिमात्र रहेँ,’ विवेक भन्छन्।

विवेक सायद अब यही परिणाको पर्खाइमा छन्। नेपाल लाइभ