मनीषालाई गुलाफको फूल हुलाकबाट पठाउँथिन् उषा

मनीषालाई गुलाफको फूल हुलाकबाट पठाउँथिन् उषा

नेपालमा राम्रै पहिचान बनाएकी उषा पौडेल एक समय बलिउडमा भाग्य खोज्न दौडिन्। उनले लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनामदन’मा आधारित फिल्म ‘मुनामदन’मा मुनाको भूमिका निर्वाह गरिन्। यही भूमिकाले नेपाली फिल्म उद्योगमा लोकप्रिय भएकी उषाले लगभग ४० वटा नेपाली फिल्ममा अभिनय गरेकी छन्। तर बलिउडमा भाग्य खोजेर हिँडेकी उनी अमेरिका पुगिन्। त्यसपछि उनको जीवनमा विभिन्न खालका उतारचढाव आए। उषाले आफ्नो जीवनका विविध पक्षबारे अमेरिकामै रहेका अर्का कलाकार विमलेश अधिकारीले सञ्चालन गर्ने टक शो ‘द बोल्ड टक विथ बिम’मा बताएकी छन्।

नेपालमा रहँदा उषाले फिल्मका अलावा ८ टेलिभिजन सिरिजमा पनि काम गरिन्। थुप्रै म्युजिक भिडिओमा अभिनय गरिन्। बलिउडमा पनि उषाले केही समय काम गरिन्। उनले बलिउडमा ‘तुझ सङ प्रित लगै सज्ना’, ‘जय जय बजरङ्ग बली’, ‘अदालत’, ‘चिन्टु छिन्की अर एक बढी सि लभ स्टोरी’ लगायतमा अभिनय गरिन्। तर बलिउडमा उनको खासै पहिचान बन्न सकेन। पछिल्लो ७ वर्षदेखि उषा अमेरिकामा छिन्।

उषाले अभावमा बितेको आफ्नो बाल्यकाल स्मरण गर्दै त्यसयता हासिल उपलब्धि र अमेरिका बसाइले दिएको सुखले आफूलाई भाग्यमानी अनुभव गर्ने बताएकी छन्। उनी भन्छिन्, ‘मैले धेरै धनी मान्छे सडकमा आएको पनि देखेको छु। सडकमा खाना खान नपाउने मान्छे धनी भएको पनि देखेकी छु। मेरो बाल्यकाल राम्रो थिएन। धेरै अभाव थियो। त्यो स्थानबाट आएका कारण आफूलाई भाग्यमानी अनुभव गर्छु।’

उषा भगवान्‌मा भरोसा राख्छिन्। भगवान्‌ले आफ्नो टाउकोमा हात राखिदिएकैले हर परिस्थितिसँग लड्न सकेको उषा बताउँछिन्। राम्रो पहिचान बनाएर देश छाड्दा गुमेको पहिचानले उनलाई बेलाबेला झस्काउँछ। तर लामो समयदेखि उतै बसोबास गरिरहेका अन्य कलाकारको साथले सबै कुरा बिर्साएका छन्। उनले भनेकी छन्, ‘पैसा कमाउन दुःख त गर्नैपर्छ। अमेरिकामा आफूले त्यसका लागि गरेको मिहिनेतलाई भयंकर पहाडै तोडेको भन्न चाहन्नँ।’

उनले बलिउडमा आफूले गरेको संघर्षको सम्झना गरिन्। नेपालमा स्थापित भएर मुम्बईमा शून्यबाट संघर्ष गर्दा सुरुमा निकै निराश भएको उनले सुनाएकी छन्। चरम निराशाका दिनमा झन् धेरै मेहनत गरेको र आशा राखेको उषाले उल्लेख गरेकी छन्। 

कलाकार मनीषा कोइरालाबाट आफू कलाकारितामा प्रेरित भएको उषा बताउँछिन्। बाल्यकालबाटै मनीषाबाट प्रेरित उषाले स्कुले जीवनमा मनीषाका पोस्टकार्ड बोकेर हिँडेको स्मरण गरिन्। पत्रिकामा छापिएको मनीषाको फोटोमुनि लेखिएको ठेगानामा गुलाफको फूल खाममा राखेर  हुलाकबाट चिठी पठाउने गरेको समेत उनले स्मरण गरिन्। तर उनले पठाएको गुलाफ र चिठीको जवाफ कहिल्यै आएन। तैपनि उषा निराश हुन्थिनन्, उसैगरी खाममा चिठी र गुलाफ राखेर पठाइरहन्थिन्। 

सायद मनीषाको यही प्रभावले बलिउडमा भविष्य खोज्न पुगेकी उनलाई धेरै मनीषासँग दाँजेर हेर्थे। धेरैले प्रश्न गर्थे, ‘तिमी मनीषाको बहिनी होरु कसैले सोध्थे( मनीषासँग तिम्रो के साइनो छरु’ उनी मनमनै भन्थिन्, ‘मनको साइनो छ।’

जिन्दगीका हरेक हिडाइँले पाठ सिकाउने उषाको अनुभव छ। उनलाई पनि नेपाली र बलिउड दुवै फिल्म उद्योगले थुप्रै पाठ सिकाएको छ। एक समय पहिचान बनाएकी उषा हिजोआज उद्योगबाट गुमनाम छिन्। उद्योगबाट टाढा रहेर पनि उनी दुःखी भने छैनन्। नामको घमण्ड जीवनमा बोकेर हिँड्नु हुँदैन भनेर पनि उषालाई यही उद्योगले सिकाएको हो। भन्छिन्, ‘यो उद्योगले मलाई मान्छेमा अहमता हुनुहुँदैन भन्ने सिकाएको छ।  मान्छे सरल भएर हिँड्नुपर्छ भन्ने सिकाएको छ। यही उद्योगमा मैले मान्छेलाई मान्छेको व्यवहार गर्नुपर्छ भन्ने सिकेँ। यही सिकाइलाई फलो गर्दै बाँचिरहेकी छु।’

उषाले सानैमा आमा गुमाइन्। आमाको मृत्यु हुँदा उषा ६ वर्षकी थिइन्। उनले कुराकानीका क्रममा आमाको मायाका लागि जीवनभर तड्पिएको बताएकी छन्। उषा आफ्नो जीवनको सबैभन्दा ठूलो क्षति नै आमाको मृत्यु मान्छिन्। आफ्नो जीवनको अँध्यारा पाटाबारे उषालाई बोल्नु छैन। उनी जीवनको खराब निर्णयबारे पनि बोल्दिनन्। ‘जे भयो त्यो बितिसक्यो, त्यसलाई सम्झिरहने होइन। खराब निर्णय र समयबाट पाठ सिकेर अगाडि बढ्ने’ उषाको मान्यता हो।

नेपाली फिल्म उद्योगमा महिला हिंसाका कुरा बारम्बार उठिरहन्छ। महिला कलाकारले पुरुष कलाकार तथा निर्माता/निर्देशकबाट यौनहिंसा भोग्ने गरेको कुरा बाहिर आइरहन्छ। उषाले पनि यसबाट आफू अछुतो नरहेको बताएकी छन्। फिल्म क्षेत्रमा स्थापित भइसक्दा पनि फिल्मको अफर गर्ने र यौनहिंसाको प्रयत्न गर्ने गरेको उनले बताएकी छन्। प्रमुख भूमिकाका लागि अफर गरेर भेट्न बोलाउने त्यसपछि पैसामा बार्गेनिङ गर्ने, पटकपटक भेट्न बोलाउने र कुनियत राख्ने मानिसहरु फिल्म उद्योगमा त्यो समय पनि रहेको उषाले अनुभव सुनाइन्।