शिर्ष नेताहरुनै कार्यकर्तामाथि भ्रम फैलाउन लागेः भीम रावल

शिर्ष नेताहरुनै कार्यकर्तामाथि भ्रम फैलाउन लागेः  भीम रावल

धनगढी । नेकपा एमालेका नेता भीम रावलले अछाममा कार्यकर्ताले कार्यक्रम विथोल्नु शिर्ष नेताहरुकै गल्ती रहेको बताएका छन् । मंगलबार धनगढीमा पत्रकार सम्मेलनमा उनले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई कटाक्ष गर्दै शिर्ष नेताहरुलेनै पार्टीभित्रका मानिसप्रति आक्षेप लगाएपछि कार्यकर्ताले विरोध गर्नु स्वभाविक रहेको बताएका हुन् ।

पार्टी उपाध्यक्ष पौडेल, पार्टीका प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरुको सहभागितामा सोमबार अछाममा आयोजित कार्यक्रममा नेता रावलप्रति आक्षेप लागेपछि कार्यकर्ताहरुले कार्यक्रम विथोलेका थिए । 

‘मेरो जिल्लामा मेरै क्षेत्रमा कार्यक्रम भयो । पार्टीका सिद्धान्त, विचार लगायतका बारेमा जानकारी दिने उद्देश्य रहेको थियो । कुनै पनि विवाद नगर्ने सहमति भएको रहेछ । पार्टीलाई बलियो बनाउने कसरी अघि जाने भन्ने कुरा थियो तर, त्यो कार्यक्रममा एक जना ब्यक्तिले मलाई नै सोझ्याएर प्रहार गरे’ नेता रावलले भने ‘त्यहाँ सहभागी कार्यकर्ताले विरोध गरेका हुन् । सहभागी ८० प्रतिशत भन्दा बढीले कार्यक्रमको विरोध गर्नु स्वभाविक हो ।’ उनले शिर्ष नेताहरुलेनै पार्टीलाई मजबुत, एकतावद्ध बनाउन लागेका व्यक्तिहरुमाथि आक्षेप तथा भ्रम फैलाउन कार्यको कार्यकर्ताले विरोध गरेको बताए ।

‘सल्लाहकार समिति सदस्य डडेलधुराका पदमराज जोशीले मेरा विरुद्ध बोलेपछि सहभागीहरूले नाराबाजी सुरु गरेका थिए । त्यस क्रममा उनीहरूले कुर्सी प्रहारसमेत गरेका थिए ।  करिब एक घण्टा सम्म त्यो विरोध चलेको थियो मैले नै सञ्चार माध्यममा हरेर थाहा पाए’ रावलले भने ।