ललितपुर मेयर कप अन्तरगत एपीएफ क्लब लिग चरणका खेलमा अपराजित

ललितपुर मेयर कप अन्तरगत एपीएफ क्लब लिग चरणका खेलमा अपराजित

धनगढी । सशस्त्र प्रहरी बलको एपीएफ क्लब लिग चरणका खेलमा अपराजित रहँदै  ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ क्लबले लिग चरणको अन्तिम खेलमा आज आयोजक ललितपुर मेयर्सलाई ३७ रनले पराजित गरेको हो । खेलमा एपीएफका लागि राजमती ऐरीको उत्कृष्ट खेल प्रदर्शन गरिन् । उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपीएफ क्लबले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर एक सय १० रन बनाएको थियो । एक सय ११ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्सले २० ओभरमा आठ विकेट गुमाउँदै ७३ रन मात्र बनाउन सक्यो । 

एपीएफका लागि राजमती ऐरीले अविजित ४१, कप्तान सीता राना मगरले १९ र बिनु बुढाले १२ रन बनाइन् । बलिङतर्फ ललितपुर मेयर्सकी सिमाना केसी र सृष्टी जैसीले दुई÷दुई तथा सोनी पाख्रीन र मनिषा उपाध्यायले एक÷एक विकेट लिइन् ।

ललितपुर मेयर्सका लागि ब्याटिङ गर्दै सोनी पाख्रीनले १५ तथा लक्ष्मी चौधरी र सिमाना केसीले १०÷१० रनको योगदान दिए ।