फिल्मको पाइरेसी रोक्न हटलाइन नम्बरसहितको साइबर सुरक्षा डेस्क स्थापना हुने

फिल्मको पाइरेसी रोक्न हटलाइन नम्बरसहितको साइबर सुरक्षा डेस्क स्थापना हुने

काठमाडौँ । सामाजिक संजालमा फिल्म पाइरेसी बढेपछि त्यसलाई रोक्न चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको सिनेमा साइबर सेक्युरिटी डेस्क स्थापना गर्ने भएको छ ।

मंगलबार बोर्डमा आयोजित समारोहमा अध्यक्ष भुवन केसीले फेसबुक, युट्युव र टिकटकजस्ता प्लेटफर्ममा फिल्म पाइरेसी हुँदा निर्मातालाई ठूलो आर्थिक क्षति पुगेकाले यो चुनौति रोक्न कदम चालिएको बताए ।

‘सामाजिक संजालले निर्मातालाई दर्शकसामु पुग्न जति सजिलो भएको छ त्यति नै यसले साइबर सुरक्षाको विषयमा नयाँ चुनौति खडा गरेको छ’ केसीले भने, ‘यसले हाम्रो उद्योगलाई नोक्सान पुर्‍याएको छ ।’

कलाकारको गोपनियता र सुरक्षामा पनि साइबर हमला भएको बताउँदै अध्यक्ष केसीले यी चुनौतिलाई सम्बोधन गर्न डेडिकेटेड डेस्क स्थापना गर्ने नीति लिएको बताए । डेस्कको लागि प्रणाली विकासको काम सुरु भएको जानकारी दिँदै कार्यक्रममा साइबर सुरक्षासँगै बोर्डलाई डिजिटल प्रविधिमा लैजाने सम्मका योजनाहरु प्रस्तुत गरियो ।

साइबर जोखिम न्यूनीकरण गर्न प्रहरी, निर्माता संघ, सामाजिक संजाल प्लेटफर्म र सम्बद्ध निकायसँग सहकार्य गरिने अध्यक्ष केसीले बताए ।