भत्किरहने दुर्गेशको करिअर

भत्किरहने दुर्गेशको करिअर

दुर्गेश थापा नेपाली सांगीतिक क्षेत्रमा निरन्तर चर्चामा आइरहने कलाकार हुन्। कहिले गीत गाएर त कहिले मोडलिङ गरेर चर्चामा आउने दुर्गेशको करिअरले गत वर्षदेखि समातेको अप्ठ्यारो बाटो अझै सहज भएको छैन। 

गत वर्ष नेपाली फिल्मका नायक पल शाहको घटनासँग जोडिएर विवादमा परेका दुर्गेश पलका फ्यानको निशानामा निरन्तर परिरहन्छन्। पल प्रकरणमा जोडिएपछि दुर्गेशले मेला महोत्सवमा बहिष्कार खेप्नपर्‍यो। दुर्गेशका कार्यक्रममै पलका फ्यानले ढुंगा हाने। झन्डै १ वर्ष दुर्गेश मेला महोत्सवमा निस्किन सकेनन्। 

मेला महोत्सवमा मात्रै होइन, सामाजिक सञ्जालमा पनि उनीविरुद्ध गाली बर्सिए। सामाजिक सञ्जाल र मेला महोत्सवका घटनाले दुर्गेशको १ वर्ष तनावमा बित्यो। अहिले अभिनेता पल शाह मुद्दामा सफाइ पाएर जेलमुक्त भइसके। उनले जेलबाट निस्किएको केही दिनमा सामाजिक सञ्जालमा आफ्नो घटनासँग जोडिएका कसैलाई पनि गालीगलोज नगर्न आग्रह गरे। दुर्गेशको सांगीतिक करिअरले पनि बिस्तारै लय समात्न क्रममा छ। 

कहिले बोल्न नजानेर, कहिले गीत गाउन नजानेर, कहिले देशकै चर्चित गायकको स्वर नचिनेर त कहिले भिडियोमा रक्सीको प्रचार गरेर दुर्गेश निरन्तर गाली खाइरहन्छन्। दुर्गेशको सांगीतिक करिअर बेलाबेला धर्मराइरहन्छ। धर्मराएको करिअर लयमा फर्काउने कसरतमै रहेका बेला उनको जीवनमा पुनः अप्ठ्यारो मोड आइदिन्छ। अहिले दुर्गेशलाई त्यस्तै भएको छ। 

पल शाह काण्डपछि बिस्तारै स्टेजमा फर्किरहेका दुर्गेशले फेरि एकजना टिकटकरलाई हातपात गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। टिकटकर रिदम क्षेत्रीले वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीनजनाले आफूलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन्। यो सँगै दुर्गेश पुनः विवादमा तानिएका छन्।