आजदेखि एसईई परीक्षा सुरु, पौने ५ लाख परीक्षार्थी सहभागी हुने

आजदेखि एसईई  परीक्षा  सुरु, पौने ५ लाख परीक्षार्थी सहभागी हुने

धनगढी । यसवर्षको एसईई परीक्षा आजदेखि सुरू हुँदैछ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरू हुने परीक्षा चैत २९ गते सकिनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक ९कक्षा १०० विष्णुनारायण श्रेष्ठका अनुसार २०७९ मा एकैवर्ष दुईवटा एसईई हुने भएको छ । यसअघि, वर्ष २०७८ का लागि २०७९ वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो ।

त्यसअघिका दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकन विधिबाट परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष विद्यार्थीको भौतिक उपस्थितिमा दुई हजार ३७ केन्द्रबाट परीक्षा लिइने बोर्डले जनाएको छ ।

यसवर्षको एसईईमा सहभागी परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ६७४ छात्र र दुई लाख ४२ हजार ७१२ छात्रा सहभागी हुँदैछन् ।

यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् ।

सुदूरपश्चिम प्रदेशमा नियमित, एक्ज्याम्टेड र ग्रेड गरी ५५ हजार तीन सय ७६ विद्यार्थीहरुको सहभागिता रहने जनाइएको छ । प्रदेशमा नियमित धारतर्फ ५० हजार पाँच सय ७४, ग्रेडवृद्धितर्फ एक हजार आठ सय ५८ र प्राविधिक धारतर्फ दुई हजार नौ सय ४४ विद्यार्थी छन् । सबैभन्दा बढी ५३ केन्द्र रहेको कैलालीमा १७ हजार सात सय ४२ विद्यार्थी र सबैभन्दा कम १२ केन्द्र रहेको डडेल्धुरामा दुई हजार ६ सय ८९ विद्यार्थी छन् ।

१२ केन्द्र रहेको डोटीमा तीन हजार सात सय ७२ विद्यार्थी, १५ केन्द्र रहेको बाजुरामा तीन हजार एक सय ६३ विद्यार्थी सहभागि हुने छन भने १८ केन्द्र रहेको बझाङमा चार हजार चार सय विद्यार्थी सहभागि संख्या रहेको निर्देशनालयले जनाएको छ ।

अछाममा पाँच हजार ७३ विद्यार्थी रहेकोमा २४ परिक्षा केन्द्र, दार्चुलामा दुई हजार नौ सय ७१ विद्यार्थी रहेका छन भने १६ परिक्षा केन्द्र कायम गरिएको छ । बैतडीमा पाँच हजार तीन सय ५१ परिक्षार्थी रहेकोमा २५ परिक्षा केन्द्र र कञ्चनपुरमा १० हजार दुई सय १५ परिक्षार्थी रहेकोमा ३३ परिक्षा केन्द्र कायम गरिएको छ ।

क्रमशः नियमिततर्फ कैलालीमा १६ हजार ६ सय ३०, ग्रेडतर्फ सात सय दुई र प्राविधिकतर्फ चार सय १० परिक्षार्थी रहेको निर्देशनालयले जनाएको छ ।