सरकारलाई संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगको अनुरोध

सरकारलाई संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगको अनुरोध

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका घटनाप्रति सरकारलाई संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले अनुरोध गरेको छ ।

आयोगले शुक्रबार वक्तव्य जारी गर्दै देशका विभिन्न स्थानमा केही दिनयता भएका घटना तथा प्रदर्शनका सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको र ती घटनाको मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरिरहेको प्रस्ट पारेको छ ।

आयोगका अनुसार कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भएको आन्दोलनमा लाजेहाङ लिम्बूको मृत्यु, काठमाडौँमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारीको मुख थुनेर नियन्त्रणमा लिएको घटना र तराई मधेशबाट काठमाडौँमा आएर विरोध प्रदर्शन गरिरहेका मिटरब्याज पीडितका प्रदर्शनका घटनाप्रति आयोगको ध्यानाकर्षण भएको हो । यी घटनाका कारण मानव अधिकारको स्वतन्त्र उपभोगमा चुनौती खडा भएकोसमेत आयोगले जनाएको छ ।

नागरिकको शान्तिपूर्ण भेला हुने र विचार राख्न पाउने अधिकारको सम्मान गर्दै कुनै पनि व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउँदा मानव अधिकारमैत्री विधि र व्यवहार गर्न, कोशी प्रदेशमा ज्यान गुमाएका लिम्बूका परिवारलाई क्षतिपूर्ति प्रदान गर्न, घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन र मिटरब्याज पीडितका सम्बन्धमा आवश्यक कानुन निर्माण सरकारलाई आग्रह गरिएको छ । 

साथै मिटरब्याजका सम्बन्धमा गृह मन्त्रालयको कार्यदलले प्रस्तुत गरेका सिफारिस कार्यान्वयन गर्न पनि सरकारलाई आयोगले आग्रह गरेको छ ।