काजलको अनुभवमा बलिउडको तुलनामा साउथ इन्डस्ट्री ‘फ्रेन्डली’

काजलको अनुभवमा बलिउडको तुलनामा साउथ इन्डस्ट्री ‘फ्रेन्डली’

साउथकी चर्चित अभिनेत्री काजल अग्रवालले केही बलिउड फिल्ममा समेत काम गरिसकेकी छन् । ‘सिंघम’, ‘स्पेशल २६’, ‘मुम्बई सागा’, ‘क्यु १ हो गया ना’ जस्ता बलिउड फिल्ममा काम गरेकी उनले पछिल्लो समय साउथ फिल्मलाई नै प्राथमिकता दिएकी छन् । उनी आफैंलाई पनि बलिउडभन्दा साउथ फिल्ममा काम गर्न मनपर्छ । किनकी, काजललाई साउथ इन्डस्ट्री व्यावसायिक लाग्छ ।

उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘मलाई साउथ इन्डस्ट्रीमा काम गर्न यसकारण पनि मनपर्छ कि बलिउडभन्दा यो इन्डस्ट्री निकै फ्रेन्डली र एक्सेप्टिङ छ । यहाँ कयौं प्रकारको फिल्म र भूमिका गर्न पाइन्छ । साथै, यहाँ वर्क एथिकको ठूलो महत्त्व छ, चाहे तपाईं जति ठूलो स्टार किन नहुनुहोस् ।’ हिन्दी भाषा धेरैले बुझ्ने भएकाले प्रायः कलाकार बलिउडमा काम गर्न चाहने उनको बुझाई छ ।

पछिल्लो समय साउथ इन्डस्ट्रीमा राम्रो काम हुँदै आएको जिकिर गर्दै काजल भन्छिन्, ‘अहिले साउथका निर्देशक र प्राविधिकहरुले सानदार कन्टेन्ट पस्किँदै आएका छन् । तेलुगु, तमिल, कन्नड र मलयालमका फिल्ममा निकै राम्रो काम भैरहेको छ । मलाई लाग्छ, हिन्दी इन्डस्ट्रीमा यो चीजको कमी छ ।’ आफूलाई बलिउडभन्दा साउथमा मिल्ने वर्क एथिक्स र भ्यालू मनपर्ने उनको धारणा छ ।

‘मेरो लागि बलिउड पनि फ्रेन्डली नै रह्यो, तर मलाई त्यो व्यावसायिक नैतिकता र महत्त्व मनपर्छ, जुन साउथ इन्डस्ट्रीमा मिल्ने गर्छ । साउथ फिल्ममा काम गर्नका लागि निकै अनुशासन चाहिन्छ,’ उनको अनुभव छ । पछिल्लो पटक फिल्म ‘घोस्टी’मा देखिएकी काजल यतिबेला फिल्म ‘इन्डियन २’मा काम गरिरहेकी छन् । साउथका सुपरस्टार कमल हसनसँग उनको यो पहिलो फिल्म हो ।