वैशाख १ को महाभिडन्त, दर्शकको रोजाइमा कुन फिल्म ?

वैशाख १ को महाभिडन्त, दर्शकको रोजाइमा कुन फिल्म ?

विदेशी फिल्मसँग जुध्न नसक्ने, तर आफ्नै देशमा बनेका फिल्मसँग भिड्न तँछाडमछाड गर्ने नियति त नेपाली फिल्म मेकरको पुरानै हो । वैशाखको १ गते देखिएको महाभिडन्त पनि यी नियतिको परिणाम हो भन्न सकिन्छ । 

वैशाखको १ गते ‘जारी, बिहे पास, बुलाकी र नाई नभन्नु ल ६’ गरी ४ फिल्म रिलिज हुँदै छन् । शुक्रवार र शनिबारको बिदामा फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गर्दै ४ नेपाली फिल्म रिलिज हुन लागेका हुन् । ४ वटा नेपाली फिल्मको अनुमानित बजेट हेर्दा पनि ८ करोडको हाराहारीमा छ । ४ वटै फिल्मका निर्माता सुरक्षित मात्र हुन पनि नयाँ वर्षमा चलेका फिल्मले करिब २० करोड माथिको व्यापार गर्नुपर्ने हुन्छ । तर, यति ठूलो व्यापार नयाँ वर्ष र शनिबारको विदामा मात्र कति सम्भव छ भन्ने मूल्याङ्कन भने गरिएको छैन । 

यो रोचक भिडन्तमा विकासराज आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल ६’, उपेन्द्र सुब्बा निर्देशित ‘जारी’, लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’  प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’ छन् । फिल्म ‘नाइँ नभन्नु ल ६’ मा आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियंका कार्की र केकी अधिकारी छन् । यो फिल्ममा निर्देशक आचार्यसहित सामिप्यराज तिमल्सिना र अरुण देव जोशीको पटकथा लेखन छ । आख्यान फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मको विकासराज आचार्य र विष्णुमणि दाहाल निर्माता हुन्, भने कार्यकारी निर्मातामा सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान रहेका छन् । 

यस्तै, अर्को फिल्म ‘बुलाकी’लाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । पोस्टरबाट चर्चा कमाएको फिल्ममा सुरक्षा पन्तको साथमा अभिनेताद्धय नरेन खड्का र बिराज विष्टको शीर्ष भूमिका छ । कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावलाई फिल्मको मुख्य कथा बनाइएको छ । 

यस्तै, उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको अर्को फिल्म हो ‘जारी’ । यो फिल्म लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमाथि निर्माण भएको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ । बाँसुरी फिल्मसको प्रस्तुति र कबड्डी फिल्मसको सहकार्य निर्माण भएको फिल्मका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् । 

यस्तै, दयाहाङ राई र प्रकृति श्रेष्ठको अभिनय रहेको फिल्म हो ‘बिहे पास’ । प्रवेश पौडेल निर्देशित फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेललगायत कलाकारको अभिनय छ । यो फिल्म सरकारी अधिकृत पत्नी र सरकारी जागिर पाउन प्रयत्नरत पति र पारिवारिक तनावको बारेमा निर्माण भएको छ । आरआर फिल्म प्रोडक्शनको व्यानरमा निर्माण फिल्ममा मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा, आकाश र सजन पटकथा र संवाद छ । यस फिल्मको रोहित कट्टेल प्रस्तुतकर्ता, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सह–निर्माता छन् ।

यसरी, चार फिल्मको बक्स अफिस भिडन्त नेपाली फिल्मका लागि सुखद भने होइन । तर, चारै वटा फिल्मका मेकर आ–आफ्नो दाबीका साथ बक्स अफिसको झ्याल अगाडि उभिन तयार छन् । अब, दर्शकले कुन फिल्मको झ्याल बढी खोल्ने हुन् त्यो भने हेर्न बाँकी छ ।