हिज्जे डटकममा नयाँ अपडेट, अब टाइप गर्दै हिज्जे परीक्षण गर्न सकिने

हिज्जे डटकममा नयाँ अपडेट, अब टाइप गर्दै हिज्जे परीक्षण गर्न सकिने

काठमाडौं । हिज्जे डटकममा अब टाइप गर्दै शब्दको भाषागत शुद्धता परीक्षण गर्न सकिने भएको छ । 'सायक' नामक कम्पनीले सञ्चालनमा ल्याएको यो प्लेटफर्ममा युजर इन्टरफेस (यूआई) परिमार्जनसहित यस्तो फिचर ल्याएको हो ।

'धेरै प्रयोगकर्ताले युजर इन्टरफेस परिमार्जन गर्नुपर्‍यो भन्ने माग राखेपछि हामीले वेबसाइट परिमार्जन गरेका हौँ,' कम्पनीका सह(संस्थापक विरोध रिजालले भने, 'पहिले कहीँबाट कपी गरेको टेक्स्टमात्र परीक्षण गर्न सकिन्थ्यो भने अहिले हिज्जे डटकममै लेखेर सोझै शुद्धीकरण परीक्षण गर्न सकिन्छ ।'

हिज्जेको होमपेजमा गएपछि त्यहाँ टेक्स्ट बक्स देख्न सकिन्छ । उक्त बक्समा शब्दहरू टाइप गरिसकेपछि माथि रहेको 'चेक हिज्जे' (Check Hijje) को बटनमा क्लिक गर्दा सोझै भाषागत त्रुटि जाँच गर्न सकिन्छ ।

'प्रयोगकर्ताले हिज्जेमा आउने बित्तिकै जाँच गर्न सकिने फिचर खोजेकाले हामीले त्यहीअनुसार परिमार्जन गरेका छौँ,' उनले भने ।

नयाँ अपडेटसँगै हिज्जेमा च्याटको सुविधा पनि देख्न सकिन्छ । आफूलाई हिज्जे प्रयोग गर्दा लागेका केही द्विविधा मेटाउन वा प्रश्न सोध्न उक्त च्याटबाट कुराकानी गर्न सकिन्छ ।

साथै पुरानो भर्सनमा दायाँपट्टि मेन्युको क्याटेगोरी राखिएको थियो, जसले गर्दा टेक्स्ट बक्सले कम क्षेत्र ओगटेको थियो ।

नयाँ अपडेटमा भने क्याटेगोरीलाई माथिपट्टि राखिएको छ, जसमा टेक्स्ट बक्सको आकारलाई बढावा दिएको छ । प्रयोगकर्ताको अनुभवलाई बढावा दिन नयाँ यूआईसहित वेबसाइटलाई परिमार्जन गरिएको रिजालले जनाए ।

रिजालका अनुसार हिज्जेमा अहिले दैनिक १० हजार प्रयोगकर्ताले भाषागत त्रुटि परीक्षण गर्छन् । हरेक पटक डेढ सयदेखि दुई सय व्यक्तिले प्रयोग गरिरहने यो प्लेटफर्म विगत केही महिना निष्क्रिय थियो । हिज्जेको होस्टिङ बाहिर देशमा भएको र त्यसलाई नेपालमा सार्न खोज्दा यस्तो समस्या आएको उनले सुनाए ।

हिज्जेले निःशुल्क रूपमा भाषागत शुद्धता परीक्षण गर्ने, फन्ट रुपान्तरण गर्ने, रोमन नेपाली टाइपिङ गर्ने लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले नेपाल एकेडेमी (नेपाल-प्रज्ञा प्रतिष्ठान) सँग सहकार्य गरेर प्लेटफर्ममा थप परिमार्जन गर्दै जाने उनले बताए । आर्थिक सहयोग जुटाउन एकेडेमीसँग छलफल भइरहेको पनि रिजालले उल्लेख गरे । टेकपाना