बैतडीका विद्यार्थी ‘पढ्दै, कमाउँदै’

बैतडीका विद्यार्थी ‘पढ्दै, कमाउँदै’

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका ६ स्थित सेटीगाउँ माविमा अध्ययनरत विद्यार्थीहरु पठनपाठनका साथसाथै कमाउने कार्यमा समेत संलग्न भएका छन् । नेपाल सरकारको ‘पढ्दै कमाउँदै’कार्यक्रम अन्तर्गत सेटीगाउँ मावि छनौट भएपछि विद्यार्थीहरु पढ्दै कमाउँदै कार्यक्रममा सरीक भएका विद्यालयका प्रधानाध्यापक परमानन्द जोशीले बताए । 

सेटीगाउँ माविमा कृषि जेटीएमा अध्ययनरत विद्यार्थीहरु पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत तरकारी खेतीमा लागेका छन् भने कुखुरापालन गर्ने तयारी भएको प्रधानाध्यापक जोशीले बताए । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यालयलाई प्राप्त भएको रकम विद्यार्थीहरुलाई उद्यम गर्नका लागि प्रदान गरिने र उनीहरुले उद्यम गरेर सो रकम फिर्ता गर्ने गरेको जोशीले बताए । अब यो बर्ष आइएस्सी एजी र आइएस्सी भेटमा अध्ययनरत विद्यार्थीहरुलाई पनि यो कार्यक्रममा समावेश गर्ने तयारी भएको प्रधानाध्यापक जोशीले बताए । 

गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पढ्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी रहेको प्रधानाध्यापक जोशीको भनाइ छ । विद्यार्थीहरुले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत प्रयोगात्मक सीप समेत सिक्ने गरेको जोशीले बताए । उनले भने ‘विद्यार्थीहरुलाई आयआर्जनमा समेत संलग्न हुनका लागि यो कार्यक्रमले निकै फाइदा पुर्याएको छ । यसबाट विद्यार्थीहरुलाई आफ्ना शैक्षिक सामग्री खरीदमा समेत सहयोग पुगिरहेको छ ।’

डिलाशैनी गाउँपालिका अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमका लागि सेटीगाउँ मावि छनौट भएपछि त्यहाँका विद्यार्थीहरुले आयआर्जन गरिरहेका डिलाशैनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले बताए । विद्यार्थीहरुले प्रयोगात्मक सीप सिक्नुका साथै पठनपाठन समेत गरिरहेका उनले बताए । 

पढ्दै कमाउँदै कार्यक्रमले विद्यार्थीहरुलाई भविष्यमा आत्मनिर्भर हुने सीप सिकाएको भट्टले बताए । सेटीगाउँ माविका विद्यार्थीहरुले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत च्याउ उत्पादन गर्नुका साथै तरकारी खेती समेत गरिरहेका छन् । 
च्याउ र तरकारीको बजार समेत राम्रो भएकाले विद्यार्थीहरुलाई आयआर्जनमा टेवा पुगेको विद्यालयका प्रधानाध्यापक जोशीले बताए ।