शिक्षाको गुणस्तर खस्किँदै गएकोमा सरोकारवालाहरुको चिन्ता

शिक्षाको गुणस्तर खस्किँदै गएकोमा सरोकारवालाहरुको चिन्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा सामुदायिक शिक्षाको गुणस्तर खस्किँदै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

शिक्षा अधिकार अनुगमन समूह, सुदूरपश्चिम प्रदेशको आयोजनामा बुधबार धनगढीमा आयोजित ‘सार्वजनिक शिक्षा सुदृढीकरणमा राजनीतिक उत्तरदायित्व विषयक सुदूरपश्चिम स्तरीय अन्तरसंवाद कार्यक्रम’ मा सहभागिहरुले राज्यले आवश्यकताअनुसार नीति नबनाउँदा सामुदायिक विद्यालयको गुणस्तर खस्कदै गएको बताएका हुन् ।

कार्यक्रममा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले शिक्षाको गुणस्तरका लागि थुप्रै ठाउँमा सुधार गर्न आवश्यक रहेको बताए । उनले एक अर्कामाथि आरोपमात्र लगाउने प्रवृतिले शिक्षा क्षेत्रको सुधारमा समस्या रहेको बताए । उनले भने –‘हामी सबै जिम्मेवारीबाट पन्छिने गरेका छौं । आफुले गर्नुपर्ने काम गर्दैनौ तर, कहिले नीति खराव छ भन्छौं । कहिले कर्मचारी अभाव भयो । कहिले राजनीतिक हष्तक्षेप भयो लगायत विभिन्न बहानाबाजी गरेर हिड्छौं । यो प्रवृतिबाट सबै परिवर्तन हुन जरुरी रहेको छ ।’ 

उनले विद्यालयमा हुने राजनीति समस्या नभएको बताउँदै –‘राजनीति समस्या होइन अराजनीति समस्या बनेको छ । अराजनीतिकरणले गल कुरालाई प्रश्रय दिँदा समस्या भईरहेको छ ।’ उनले शिक्षा क्षेत्रमा विनियोजन हुने बजेटप्रति पनि आम नागरिक सजग हुनुपर्ने बताए । उनले भने –‘बजेट विनियोजन हुनु ठुलो कुरा होइन । त्यसको सदुपयोग भयो या भएन भनेर नागरिकले चासो नराख्दा विनियोजित बजेटमा दुरुपयोग बढेको हो ।’ उनले शिक्षा क्षेत्र सुदृढीकरण भएमात्र समाज रुपान्तरण हुने बताए ।

नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य रमेशबहादुर धामीले संविधानले ग्यारेण्टी गरेका व्यवस्था कार्यान्वयन गर्न सबै एक ढिक्का हुनुपर्ने बताए । उनले भने –‘सामुदायिक वन, सडक निर्माण गर्दा उपभोक्ता समिति गठनमा नागरिकको सहभागिता हुन्छ तर, विद्यालयका गतिविधिमा अभिभावकहरुले चासो देखाउँदैनन् ।’ उनले भवन र शौचालयमा मात्र सरकारले लगानी गर्न नहुने बताए । उनले एक वडामा एक नमुना विद्यालय बनाउनतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । 

नेपाली काँग्रेसका जिल्ला सदस्य तपेन्द्र भुषालले संघिय व्यवस्था आईसक्दा समेत शिक्षा र स्वास्थ्यमा सुधार नहुँदा आम नागरिकको संघियताप्रतिनै वितृष्णा पैदा भईरहेको बताए । उनले भने –‘राजनीतिक दृष्टिकोणमात्र परिवर्तन भएर हुँदैन । प्रशासनिक कर्मचारीको दृष्टिकोणमा पनि परिवर्तन ल्याउन जरुरी रहेको छ ।’

राष्ट्रिय जनमोर्चाका प्रदेश इन्चार्ज नन्दराज भट्टले शिक्षा क्षेत्र विकासका लागि विशेष नीति आवश्यक रहेको बताए । उनले समाजको स्वार्थ केन्द्रित राजनीतिले पनि शिक्षा क्षेत्रमा प्रभाव पारिरहेको बताए । उनले भने –‘सामुदायिक विद्यालयमा सुधार गरौं भनेर लाग्ने व्यक्तिहरुलाईनै समाजमा गलत मनसाय भएका व्यक्तिहरुले काम गर्न नदिने प्रवृति पनि रहेको छ ।’

समुहका नरेन्द्र दंगोलको अध्यक्षतामा भएको कार्यक्रममा प्यावस कैलाली अध्यक्ष टोपेन्द्र शाह, एनप्यावसन अध्यक्ष राजेन्द्र चापागाई, इन्सेकका कृष्ण विक, शिक्षक महासंघका सोमनाथ अधिकारी, फियान नेपालका मुकुन्द राना, फाया नेपालका लालबहादुर महरा, सिविन नेपालका हरिलाल चौधरी लगायतले धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले सार्वजनिक शिक्षा सुदृढीकरणमा राजनीतिक दलको भुमिका विषयक प्रस्तुतिकरण गर्दै प्रदेशमा नीजि विद्यालयमा विद्यार्थीको संख्या बढी र सामुदायिकमा न्यून रहेको बताए । उनले नीजि विद्यालयलाई सामुदायिक बनाउनतर्फ राज्यले ध्यान दिनुपर्ने सुझाव दिए ।