टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा

टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा

टीकापुर । टीकापुर साहित्य समाजले तीन वटा पुरस्कार घोषणा गरेको छ । चैत २५ गतेदेखि सुरु हुने टीकापुर साहित्यिक महोत्सवको अवसर पारी प्रदान गरिने पुरस्कारको टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्यकार महेशविक्रम शाहले विहीबार पत्रकार सम्मेलन मार्फत घोषणा गरेका छन् ।

समाजले एक लाख राशीको खड्गस्मृति राष्ट्रिय गौरव पुरस्कार २०७८ थोमस वर्गिज र मेरी वर्गिजलाई अर्पण गर्ने जानकारी गराएको छ । टीकापुरमा योजनाबद्ध शहरको परिकल्पनाकार तत्कालीन मन्त्री स्वर्गीय खड्गबहादुर सिंहको सम्झानामा स्थापना भएको सो पुरस्कार वर्गिज दम्पतीले टीकापुरमा आवासीय विद्यालय (हाल वीरेन्द्र विद्यामन्दिर मावि) स्थापना गरी लामो समय यहाँका नागरिकका सन्ततिलाई शिक्षा दिने काममा योगदान गरेवापत दिइन लागेको हो । वर्गिजले नेपालका विभिन्न ठाउँमा विद्यालय खोलेर अङ्ग्रेजी माध्यमको पढाइ विस्तार गरेका छन्।

यस्तै, ५० हजार राशीको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार गायिका अनु चौधरीलाई प्रदान गरिनेभएको छ । सुदूरपश्चिमका प्रतिभालाई प्रदान गरिने यो पुरस्कार युवा अवस्थामै नेपाली, खस र थारु भाषामा लोकप्रिय गीतहरु गाएर भाषा र कलाको उन्नयन र प्रवर्धनमा साधनारत चौधरीलाई प्रदान गरिन लागेको हो । 

यसैबीच, २५ हजार राशीको टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार टीकापुरका उच्च माविका सर्वोत्कृष्ट नतिजा ल्याउनुभएका गणेशबाबा बोर्डिङ स्कुलका छात्र प्रवेश रावललाई प्रदान निर्णय गरेको छ ।

२०७८ माघ २४ गते स्थापना भएको टीकापुर साहित्य समाजले ‘साहित्यमार्फत सामाजिक सदभाव’ उद्देश्य राखेर चैत २५ देखि २७ गतेसम्म टीकापुरमा साहित्य महोत्सव आयोजना गर्दैछ । महोत्सवमा देशका चर्चित लेखक, साहित्यकार, पत्रकारको उपस्थितिमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायतका २० वटा सत्रमा छलफल हुने र एक हजार जनाले सुन्न हेर्न पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।