नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष र सचिवहरुले लिए पद तथा गोपनियताको सपथ

नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष र सचिवहरुले लिए पद तथा गोपनियताको सपथ

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेशका अध्यक्ष र सचिवहरुले आइतबार धनगढीस्थित पार्टीको प्रदेश कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गनुभएको छ ।

आइतबार भएको सपथ ग्रहण कार्यक्रममा सबै प्रदेशका नौ वटै जिल्लाका अध्यक्षहरुले सपथ लिनुभयो । तर प्रदेश कमिटीको सदस्य समेत रहनुभएका तीन जना नेताहरुले जिल्ला कमिटीको सचिव बस्न अस्वीकार गर्दै सपथ ग्रहणमा अनुपस्थित रहनुभयो ।

सपथ ग्रहणमा अनुपस्थित रहने नेताहरुले पार्टी केन्द्रीय कमिटीले निर्णय गरेको भोलिपल्ट नै आफहुरु सचिव पदमा नबस्ने घोषणा गर्नुभएको थियो ।

पूर्व एमालेमा डडेल्धुरा अध्यक्ष रहनुभएका डा. तारा प्रसाद जोशी, दार्चुलाका अध्यक्ष रहनुभएका रामदत्त जोशी र बझाङका अध्यक्ष रहनुभएका दिल बहादुर सिंहले सचिव पद अस्वीकार गर्नुभएको हो । यी तीनै जिल्लामा पार्टी अध्यक्षको पद पूर्व माओवादी नेताहरुले पाउनुभएको छ ।

एउटा पार्टीले अध्यक्ष र अर्को पार्टीले सचिव पाउने पूर्व सहमति अनुसार नै जिम्मेवारी दिइएको भएपनि डडेल्धुरा, दार्चुला र बझाङमा अध्यक्षको जिम्मेवारी पाएका पूर्व माओवादी नेताहरु पूर्व एमालेका नेताहरु भन्दा कनिष्ठ रहेका कारण पद अस्वीकार गरिएको बुझिएको छ ।

सपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहनुभएका पूर्व एमालेका डडेल्धुरा जिल्ला अध्यक्ष डा. तारा प्रसाद जोशीले पार्टी एकता प्रक्रियाप्रति आफ्नो पूर्ण सहमति रहेको र आफु प्रदेश कमिटीको सदस्य रहेका कारण जिल्लामा सचिवको जिम्मेवारी अर्को नेताले पाउनुपर्ने आफ्नो तर्क रहेको बताउनुभयो । डडेल्धुरामा पार्टीको अध्यक्ष पद पूर्व माओवादीका जिल्ला संयोजक मानसिंह मालले पाउनुभएको छ ।

यस्तै दार्चुलामा पूर्व माओवादीका संयोजक गणेशसिंह खत्री र बझाङमा पनि पूर्व माओवादी नेता मीनबहादुर कुँवरले जिम्मेवारी पाउनुभएको छ ।

कञ्चनपुरमा अध्यक्षको जिम्मेवारी पाउनुभएक बीरबहादुर थापा समेत कञ्चनपुरमा सचिवको जिम्मेवारी पाउनुभएका तारा लामा तामाङ भन्दा कनिष्ठ हुनुहुन्छ र तर तामाङले भने आफु पार्टीको कार्यकर्ता भएको र पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने बताउँदै सपथ ग्रहण गर्नुभएको छ ।  

पूर्व एममालेका तर्फबाट सचिवको जिम्मेवारी पाएका नेताहरुले सपथ लिन नमानेपछि सपथ ग्रहण कार्यक्रममा केहीबेर कैलाली जिल्लाको सचिवको जिम्मेवारी पाएका पूर्व माओवादीका कैलाली संयोजक लालबहादुर सोडारीले पनि केही समय सपथ नलिने अडान लिनुभएको थियो ।

तर पछि पार्टीका प्रदेश इञ्चार्ज भीम रावल र स्थायी समिति सदय लेखराज भट्टले उहाँसित कुराकानी गरेप िसोडारीले सपथ लिनुभएको छ ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै इञ्चार्ज रावलले सपथ ग्रहणमा अनुपस्थित रहने नेताहरुप्रति इङ्गित गर्दै पार्टी एकताको भावना र मर्म अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो ।