स्वास्थ्य विमाको सातौ वार्षिकोत्सव मनाईयो

स्वास्थ्य विमाको सातौ वार्षिकोत्सव मनाईयो

धनगढी । स्वास्थ्य विमा कार्यक्रम शुरु भएको शनिबार सात वर्ष पुगेको छ । ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बिमा’ भन्ने मुल नाराका साथ स्वास्थ्य विमा बोर्डले धनगढीमा विशेष कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो ।

विमा बोर्डका प्रदेश संयोजक रमेन्द्र कुश्वाहको अध्यक्षतामा भएको कार्यक्रममा सेति प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाह प्रमुख अतिथि रहेका थिए । सो अवसरमा अध्यक्ष शाहले स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन सेवाप्रदायिक संस्थामा छुट्टै युनिट राख्नुपर्ने सुझाव दिए ।

उनले भने –‘सेवाग्राहीहरुले छिटो र सहज सेवा चाहन्छन् । अस्पतालमा ठुलो भिड हुँदा विमा गरेका व्यक्तिहरुलाई पनि सेवा पाउन कठिनाई हुन्छ । यसकारण अस्पतालहरुमा यसको छुट्टै युनिट राखिनुपर्छ ।’

सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खडकाले विमाको अवधारणा उचित भएपनि तीन तहकै सरकारबिच समन्वय र सहकार्य नहुँदा समस्या भईरहेको बताए । उनले भने –‘स्वास्थ्य विमालाई प्रभावकारी बनाउन तीन तहकै सरकार जिम्मेवार हुनुपर्छ । यसका लागि विमा बोर्डले पनि सबैसंग समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा सहभागिहरुले सेवाप्रदायिक संस्थाले विमितलाई प्राथमिकता नदिने, खोजेका औषधि उपलब्ध नहुने, जनशक्ति अभाव लगायतका कारण विमा कार्यक्रमप्रति नागरिकको रुचि घट्दै गएको प्रतिक्रिया दिएका थिए ।