कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तुम्वाहाम्फेको निधन

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तुम्वाहाम्फेको निधन

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तेजमान तुम्वाहाम्फेको निधन भएको छ । ०१५ को आमनिर्वाचनमा निर्वाचन क्षेत्र नं २६ धनकुटाबाट निर्वाचित तुम्वाहाम्फेको शुक्रबार राति निधन भएको हो ।

पार्टीको सातौँ महाधिवेशनपश्चात् जननायक बिपी कोइरालाको सभापतित्वमा रहेको पार्टीको केन्द्रीय कार्यसमितिमा सदस्य तुम्वाहाम्फेले नेपाली कांग्रेसको संगठन निर्माण तथा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । 
 
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी तुम्वाहाम्फेको निधनबाट कांग्रेसले एक अनुभवी अग्रज नेतृत्वलाई गुमाएको बताए । 
 
तुम्वाहाम्फेको निधनप्रति कांग्रेसले चैत २५, २६ र २७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र चैत २६ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गरिने बताएको  छ ।

स्वर्गारोहणको १३ औँ दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्लामा शोक पुस्तिका राख्नुका साथै १३ औँ दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने मुख्यसचिव पौडेलले बताए । 
 
तुम्वाहाम्फेको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।