उत्पादित जनशक्ति समाज रूपान्तरणको सहयोगी हुनुपर्छः प्रधानमन्त्री ‘प्रचण्ड’

उत्पादित जनशक्ति समाज रूपान्तरणको सहयोगी हुनुपर्छः प्रधानमन्त्री ‘प्रचण्ड’

धनगढी ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभइ व्यवहारिक र जीवनोपयोगी हुनुपर्ने बताएका छन ।

आइतबार कञ्चनपुरको महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । उनले भने “विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभइ व्यवहारिक,जीवनोपयोगी तथा समाजको रूपान्तरणका लागि सहयोगी हुनुपर्दछ । विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तब्य पूरा गर्नसक्ने हुनुपर्दछ।”

साथै उनले अर्थतन्त्रको ढाँचाको खोजी र समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि विश्वविद्यालयबाट दक्ष जनशक्ति उत्पादन हुनुपर्ने बताए। उनले आजको प्रतिस्पर्धी विश्वको शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दै अघि बढ्नु जरूरी रहेको बताए।

उनले दीक्षित विद्यार्थीले आफूलाई समाजमा सभ्य,शिष्ट र इमान्दार नागरिकका रूपमा स्थापित गर्दै आफ्नो राष्ट्रप्रतिको कर्तव्यलाई जिम्मेवारीका साथ पूरा गर्नेमा विश्वास व्यक्त गरे।