शिक्षकलाई गाउँपालिकाको स्वागत

शिक्षकलाई गाउँपालिकाको स्वागत

धनगढी । खिमडी (मोहन्याल)– सुगम जिल्लाको दुर्गम गाउँपालिकाका रुपमा रहेको मोहन्यालमा पदस्थापन भएका शिक्षकहरूलाई गाउँपालिकाले स्वागत गरेको छ । सोमबार गाउँपालिका कार्यालयमा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले उनीहरुलाई अविर तथा खादा लगाएर भव्य स्वागत गरेका हुन् । 

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय ९हिमशिखर ले गाउँपालिकामा शिक्षक सेवा आयोगबाट पास भएर आएका शिक्षकहरुलाई स्वागत गर्दै भने,‘बौद्विक जगतका शिक्षकहरु आउनुभएको छ । यहाँको शिक्षालाई सुधार्न तपाईहरुको सहयोग कोशेढुंगा हुनेछ ।’ कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर साउँदले दुर्गम ठाउँमा आएका शिक्षकले यहाँको भविष्य बनाउनलाई सहयोग पुग्ने बनाउँदै भने,‘सुगम कैलालीको दुर्गम ठाउँको शिक्षालाई सुधार्ने जिम्मा तपाईहरुको काँधमा आएको छ ।’

मोहन्यालमा पदस्थापन भएर आएका शिक्षकहरुलाई हरेक समस्या पर्दा गाउँपालिकाको तर्फबाट आफूहरुले सहयोग गर्ने बताउँदै उनले भने,‘तपाईहरु सुगम जिल्लाको दुर्गम ठाउँमा पदस्थापन भएर आउनु भएको छ, यहाँ समस्या पर्दा हामी हरेक कोणबाट सहयोग गर्छौ ।’ कार्यक्रममा गाउँपालिकाका कार्यकारी अधिकृत राजबहादुर सार्कीले शिक्षक सेवा आयोगबाट पदस्थापन भएर आएको शिक्षकहरुलाई स्वागत गर्दै भने,‘तपाईहरुको मिहिनेत र लगनशीतलताले बौद्धिकवर्ग मोहन्यालमा आउनुभएको छ, तपाईहरुलाई हामी हृदयदेखि स्वागत गर्दछौ । तर, दुर्गमको शिक्षालाई सुधार्ने जिम्मा तपाईहरुको काँधमा छ । गाउँपालिकाले हरदम सहयोग गर्न तयार छ ।’

कार्यक्रममा गाउँपालिकामा पदस्थापन भएर आएका २१ शिक्षकमध्ये १८ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।