बैतडीको पाटन नगरपालिकाले विद्यालयको तह घटायो

बैतडीको पाटन नगरपालिकाले विद्यालयको तह घटायो

बैतडी । बैतडीको पाटन नगरपालिकाले विद्यालयको तह समायोजन गर्दै छ ।  भगौलीक दुरी टाढा भएका र विद्यार्थी संख्याको आधारमा नगरपालिकाले  विद्यालयको तह समायोजन गरिरहेको  हो  ।

नगरपालिकाले  ११ विद्यालयका तह समायोजन गरिरहेको  नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेयले बताए । कक्षा १ देखि ३ सम्मका विद्यालयहरुमा कम्तीमा ३० जना, कक्षा १ देखि ५ सम्म पढाई हुने विद्यालयमा कम्तीमा ६५ जना, कक्षा १ देखि ८ सम्मको विद्यालयमा कम्तीमा ११०, कक्षा १ देखि १० सम्म पढाई हुने विद्यालयमा कम्तीमा १७० जना र कक्षा १ देखि १२ सम्म पढाई हुने विद्यालयमा कम्तीमा ११० जना विद्यार्थी हुनुपर्ने मापदण्ड थियो ।

सो मापदण्डमा टेकेर विद्यार्थी संख्या नभएका विद्यालयहरुको तह घटाउने काम भइरहेको पाण्डेयले  बताए ।  कक्षा ३ सम्म सञ्चालनमा रहेको वडा नं ४ को नागार्जुन सैपाल आधारभूत विद्यालय खोल्सी शिशु कायम रहने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ३ सम्मका पढाई हुने गरेकोमा ११ जना मात्रै विद्यार्थी थिए ।वडा नं १ को ज्ञानज्योती आधारभूत विद्यालय गणेशपुर पनि शिशु कायम रहने भएको छ ।

वडा नं ७ को दानखोलामा रहेको चतुरभुज आधारभूत विद्यालय कक्षा ३ सम्म कायम रहने छ । यसअघि कक्षा ५ सम्म अध्यान अध्यापन हुदै आएको थियो । वडा नं १ को गरालेकमा रहेको दुर्गाबताल आधारभूत विद्यालय पनि कक्षा ३ सम्म कायम रहने छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म अध्यान अध्यापन हुदै आएको थियो । वडा नं १ कै भुवनेश्वरी आधारभूत विद्यालय लदौली पनि कक्षा ३ सम्म कायम रहने भएको छ ।

यस अघि कक्षा ५ सम्म पढाइ हुदै आएको थियो । वडा नं २ को भूमिराज आधारभूत विद्यालय टोटी पोखरी कक्षा ३ सम्म कायम रहने भएको छ । यस अघि उक्त विद्यालयमा कक्षा ५ सम्म पढाई हुदै आएको थियो । यस्तै वडा नं ३ को सुकाबैना आधारभूत विद्यालय सुकाबैनालाई कक्षा ३ सम्म कायम गरिएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म पढाइ हुदै आएको थियो । वडा नं १० मा रहेको सिद्धसिगास आधारभूत विद्यालय पनाली पनि शिशु कायम रहने भएको छ । उक्त विद्यालयमा कक्षा ३ सम्म पढाई हुने गरेको थियो ।

वडा नं ३ मा रहेको सरस्वती आधारभूत विद्यालय कल्तडीलाई पनि कक्षा ३ सम्म कायम राखिने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म पढाइ हुदै आएको थियो । वडा नं ५ को उदयदेव आधारभूत विद्यालय धञ्चुली कक्षा ५ सम्म कायम रहने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ८ सम्म पढाई हुदै आएको थियो । वडा नं ६ को डाँडाबाग आधारभुत विद्यालय हिरापुरलाई कक्षा ५ सम्म कायम राखिने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ८ सम्म पढाइ हुदै आएको थियो । शिक्षक समायोजनको विषयमा पनि छलफल भइरहेको बताइएको छ ।