‘बिसु’ मनाउन घर फर्किँदै सुदूरपश्चिमेली

‘बिसु’ मनाउन घर फर्किँदै सुदूरपश्चिमेली

कैलाली । रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली नयाँ वर्ष ‘बिसु’ नजिकिएसँगै घर फर्किन थालेका छन्। नयाँ वर्ष ‘बिसु’ नजिकिएसँगै सुदूरपश्चिम प्रदेशका मुख्य सिमानाका भएर स्वदेश फर्किनेको सङ्ख्या बढ्दै गएको हो।

सुदूरपश्चिममा नयाँ वर्षलाई ‘बिसु’ पर्वका रूपमा समेत मनाइने भएकाले काम गर्नका लागि भारत पसेका फर्किने गरेका छन्। सुदूरपश्चिमको कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी नाका लगायत बैतडीको झुलाघाट नाका भएर सुदुरपश्चिमका स्थानीय बिसु मनाउन घर फर्कने गरेका छन्। कैलाली र कञ्चनपुरका नाका भएर पनी भारतबाट घर फर्किनेहरुको संख्या बढेको छ।

यस्तै बैतडीको सीमानाका झुलाघाटबाट नेपाल फर्किनेको घुइँचो लागेको सीमा प्रहरीचौकी झुलाघाटका इञ्चार्ज योगेशकुमार पालले जानकारी दिए। हाल दैनिक दुई सय बढी नागरिक भारतबाट नेपालतर्फ आउने गरेको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । घर फर्किनेको नाकामा भीडभाड बढेको छ। सुदूर पहाडका अधिकांश सर्वसाधारण मजदुरीका लागि भारतका विभिन्न सहर जाने गरेका छन् । छोटो तथा लामो समयका लागि परदेशिएका स्थानीय चाडपर्वका लागि घर फर्कने गरेका छन्।

अधिकांश स्थानीय खेतीपातीमा लाग्ने भएकाले दुई–चार महिनाका लागि कामको खोजीमा भारत पस्ने गरेका छन्। बैतडीका स्थानीय गहुँ लगाएर तीन महिनादेखि छ महिनासम्म मजदुरीका लागि भारतीय सहरमा गएर पैसाको जोहो गर्छन् । पश्चिमी पहाडी क्षेत्रका विपन्न परिवारका व्यक्ति यस नाकाबाट भारतमा रोजगारीका लागि जाने गर्दै आएका छन्। अहिले सीमानाका झुलाघाट, बैतडी सदरमुकाम गोठलापानीबाट सञ्चालन हुने सवारीसाधनमा पनि यात्रुको चाप बढेको छ। बिसुका लागि घर फर्किनेको सङ्ख्या बढेसँगै यात्रुको चाप बढेको यातायात व्यवसायी बताउँछन्। यस्तै सिमानाकामा भिडभाड बढेपछि एकातिर कोरोनाको जोखीम बढेको छ भने घर फर्किने क्रममा बाटोमा लुटिने त्रास बढेको छ। यात्रा गर्दा सचेतना अपनाएर घर फर्किन आग्रह गरिएको छ ।

मङ्गलबार मात्रै नयाँ वर्ष बिसु मनाउन घर फर्किरहेका चार जना नेपाली कामदार बाटोमै लुटिएका छन्। सोमबार हल्द्वानीबाट घर फर्किन लागेका सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ताराबहादुर मगर, मिलन राजी, लालबहादुर नेपाली र केशर वली रहेका छन्। उनीहरुबाट ४५ हजार भारु र चार थान मोबाइल लुटिएको प्रहरीले जनाएको छ। कालापहाडमा मजदुरी गरेर घर फर्किन लागेका उनीहरुलाई भारत उत्तराखण्डको हल्द्वानीमा चिसो पेय पदार्थमा नशालु पदार्थ खुवाएर बेहोस बनाइ लुटिएको हो । हल्द्वानीबाट बनबासा आउने बसमा एक महिलाले चिसो पेय पदार्थ पिउन दिएको पीडितहरुले बताएका छन् ।

नयाँ वर्ष घरपरिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउने चलन भएकाले घर बाहिर रहेकाहरू पनि घर फर्कने गरेको बैतडी दोगडाकेदार–३ का स्थानीय गणेश विष्टले बताए। यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन छ । बिसु पर्व विशेषगरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइन्छ । देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ । हरेक वर्ष बिसु पर्वमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेषगरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ।

बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै रोग नलाग्ने जनविश्वास छ। शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ। तर पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन विस्तारै कम हुँदै जान थालेको छ ।पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ । सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु पर्व आउनुपूर्व नै जिल्लामा रहेका सबै घर रातो र कमेरो माटोले लिपपोत गर्ने ९स्थानीय भाषामा घर छिप्ने० गरिन्छ । विशेषगरी घर छिप्ने कार्यमा महिला सक्रिय हुन्छन्।

नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्षभरि सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । वैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन छ ।यसैबीच भारतबाट स्वदेश भित्रिनेको सङ्ख्या बढेसँगै कोरोना जोखिम पनि बढ्दै गएकाले स्वास्थ्य सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । भारतमा दिनप्रतिदिन कोरोना सङ्क्रमणदर बढिरहेको र त्यसको प्रभाव यहाँ पनि परेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। सीमानाकामा हेल्थडेस्क स्थापना गरेर अनिवार्य स्वास्थ्य परीक्षण र मास्कको प्रयोग गरेरमात्रै भित्रिनुपर्ने स्वास्थ्यकर्मीको सुझाब छ।