सुदूरपश्चिममा बालश्रमिकको संख्या १ लाख ७१ हजार

सुदूरपश्चिममा बालश्रमिकको संख्या १ लाख ७१ हजार

धनगढी । सुदूरपश्चिम प्रदेशमा बालश्रमिकको संख्या २ लाख नजिक रहेको पाईएको छ । केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय बाल श्रम प्रतिवेदन, २०२१ अनुसार प्रदेशमा बालश्रमिकको संख्या १ लाख ७१ हजार रहेको पाईएको हो । श्रमिक बालबालिकाको उमेर पाँचदेखि १७ वर्ष रहेको छ ।

केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय बाल श्रम प्रतिवेदन, २०२१ अनुसार पाँचदेखि १३ वर्ष उमेर समूहका १ लाख ५३ र १४ देखि १७ वर्ष उमेर समूहका १८ हजार बाल श्रमिक रहेका छन् । राष्ट्रिय बाल अधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलनराज धरेलका अनुसार सुदूरपश्चिम प्रदेशमा जोखिमपूर्ण काममा संलग्न बाल श्रमिकको संख्या ११ हजार छ । यो संख्या अरू प्रदेशको भन्दा कम हो ।

बाल श्रम प्रतिवेदन, २०२१ अनुसार सुदूरपश्चिम प्रदेशमा सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा बाल श्रमिकको संख्या अधिक रहेको छ । प्रदेशको सहरी क्षेत्रमा ८२ हजार र ग्रामीण क्षेत्रमा ८९ हजार बाल श्रमिक रहेका छन । पछिल्ला वर्षमा माध्यमिक तहसम्मको शैक्षिक अवसर, वैकल्पिक हेरचाहको उचित व्यवस्था, अनौपचारिक श्रमको पञ्जीकरण, सामाजिक सुरक्षा, प्राविधिक शिक्षाको विस्तार र स्थानीय बाल संरक्षण सेवाको उपलब्धताले बाल श्रम न्यूनीकरणमा सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बाल श्रममा कमी ल्याउन प्रदेश सरकारले बालबालिका सम्बन्धी नियमावली ल्याउनुपर्ने, बाल श्रम निवारण, बाल संरक्षण प्रणाली स्थापना र सञ्चालन तथा बाल सहभागिताको विषयमा स्पष्ट व्यवस्थासहित १० वर्षीय कार्ययोजनाको आवश्यकता औँल्याइएको छ ।

त्यस्तै बाल श्रम निवारण तथा न्यूनीकरण कार्यका लागि सामाजिक विकास मन्त्रालयमा बाल श्रम निवारण शाखाको स्थापना र सञ्चालन तथा माध्यमिक शिक्षा (प्राविधिक र गैरप्राविधिक) विस्तार तथा सुधारका लागि आगामी बजेटमा बजेट वृद्धि गर्न आग्रह गरिएको छ ।