सेनाको हवाइ आक्रमणमा एक सय जनाको मृत्यु

सेनाको हवाइ आक्रमणमा एक सय जनाको मृत्यु

म्यान्मारमा जारी गृहयुद्धमा त्यहाँको सेनाले गरेको आक्रमणमा १ सय जनाको मृत्यु भएको आशंका गरिएको छ, जुन जारी गृहयुद्धमा आजसम्मकै बढी हो।

हालसम्म ८० जनाको शव संकलन गरिएकोमा मृत्यु हुनेको संख्या एक सय भएको बताइएको छ। यो संख्या अझै बढ्ने आशंका गरिएको छ।

मंगलबार सागेइङ क्षेत्रको एउटा गाउँलाई निसाना बनाएर सेनाले आक्रमण गरेको थियो। सेनाले फेब्रुअरी २०२१ मा सत्ता कब्जा गरेदेखि आफ्ना विपक्षीहरूविरुद्ध हवाई हमला गर्दै आएको छ।

सागेइङ गाउँका मानिसहरू सैन्य सरकारको विरोध गर्छन्।

सैन्य जन्टाका प्रवक्ता जनरल जाव मिन टूनले आक्रमण गरेको पुष्टि गरेका छन्। उनले भनेका छन्, गाउँमा स्थानीयले रक्षा बलको कार्यालय खोल्न एउटा कार्यक्रम गरेपछि हामीले हवाइ आक्रमण गरेका हौँ।

त्यहाँको सेनाले २०२१ फेब्रुअरीमा जननिर्वाचित नेत्री आङ सान सूकीसहित उनको दल न्याशनल लिग फर डिमोक्रेसीका नेताहरू र अन्य सयौँ मानिसहरूलाई गिरफ्तार गरेर सैन्य शासन सुरु गरेको थियो। त्यसयता म्यान्मारमा जारी गृहयुद्धमा हजारौँ मानिसको मृत्यु भइसकेको छ भने १४ लाख मानिस विस्थापित भएका छन्।