श्रीमान्‌को मृत्यु भएपछि श्रीमतीबाट बिगो असुल्ने भन्दै अख्तियारले दायर गर्‍यो मुद्दा

श्रीमान्‌को मृत्यु भएपछि श्रीमतीबाट बिगो असुल्ने भन्दै अख्तियारले दायर गर्‍यो मुद्दा

धनगढी ।  श्रीमान्‌को मृत्यु भएकाले श्रीमतीबाट बिगो बराबरको रकम असुलउपर गर्नुपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
अख्तियारले साढे ५ करोडको बिगो दाबी गर्दै भिमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहितका व्यक्तिविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।


नदीजन्य पदार्थको बोलपत्र आह्वान गर्दा ठेकेदारलाई गैरकानूनी आर्थिक लाभ दिलाएको भन्दै मुद्दा दायर गरेको हो। भिमदत्त नगरपालिकाले भवानी कन्ट्रक्सन प्रालिसँग गरेको सम्झौतामा ५ करोड ४३ लाख ३१ हजार ८७२ रुपैयाँ राजश्व रकम हानीनोक्सानी गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 
भट्टसहित तत्कालीन लेखा अधिकृत गोविन्द राज उपाध्याय, इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौं सुवास अधिकारी, नायव सुब्बा विष्णुदेव भट्ट, लेखापाल सहायक पाँचौं दीपेन्द्र चौधरीविरुद्ध मुद्दा दायर गरिएको छ। 

त्यसैगरी भवानी कन्स्ट्रक्शनका सञ्चालकहरु इश्वरीप्रसाद भट्ट, केशवराज भट्ट, कन्ट्रक्शनका प्रतिनिधि दिवाकर भट्टलाई प्रतिवादी बनाइएको छ। सञ्चालक इश्वरीको मृत्यु भएकाले उनकी श्रीमती खगेश्वरी भट्टबाट बिगो भराउनुपर्ने भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।