आगलागीबाट दुईवटा घर जलेर नष्ट

आगलागीबाट दुईवटा घर जलेर नष्ट

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा गएराति आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार गएराति साँढे एकबजेतीर आगलागी हुँदा थाहा नगरपालिका वडा नम्बर ६ चल्तीस्थित थाक्लेका कृष्ण बहादुर खत्री र राजकुमार खत्रीको घर पूर्णरुपमा जलेर नष्ट भएका हुन् ।

आगलागीबाट घर र घरभित्र रहेका सम्पूर्ण सामाग्री जलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार कृष्णको घरमा रहेको नगद ४ लाख र राजकुमारको घरमा रहेको नगद एकलाख ५० हजार सहित कुल ३५ लाख पचास हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

आगलागीबाट कुनै मानवीय र चौपायको क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय मकवानपुरको प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । कृष्ण बहादुर खत्रीको दुईतले कच्चि घरमा बिजुलीको तार सट भई आगलागी सुरु भएको प्रहरी प्रवक्ता कार्कीले बताए।

खत्रीका आफ्नै भाइ राज कुमार खत्रीको घरमा पनि आगलागी भएको थियो । ईलाका प्रहरी कार्यलय पालुङका प्रहरी नायव निरीक्षक उमेश प्रसाद कोईरीको कमाण्डमा खटिएको प्रहरी, स्थानीय र दमकलको सहयोगमा राति साँढे २ बजेतीर आगो निभाउन सकिएको प्रवक्ता कार्कीले जानकारी दिए ।