बन्यो ढोका नखुलेको श्री एयरलाइन्सको जहाज, बाँकी उडान भने भोलि मात्रै

बन्यो ढोका नखुलेको श्री एयरलाइन्सको जहाज, बाँकी उडान भने भोलि मात्रै

काठमाडौंबाट सोमबार धनगढीका लागि उडेका श्री एयरलायन्सको हवाईजहाज धनगढी विमानस्थलमा ओर्लिएपछि ढोका नखुलेको जहाज बनाउनका लागि प्राविधिकको टोली धनगढी पुगेको छ।प्राविधिक टोलीले साँझ ८ बजेसम्म लगाएर जहाजका ढोका मर्मत गरेको हो। 

सोमबार दिउँसो साढे चार बजेतिर धनगढी विमानस्थलमा अवतरण भएको श्री एयरलायन्सको नाइन एन एएमओ कलसाइन जहाजको ढोका नखुल्दा आधा घन्टासम्म यात्रुहरू जहाजभित्रै बस्न बाध्य भएका थिए। 

विभिन्न प्रयास गर्दा पनि जहाजको ढोका नखुलेपछि यात्रुहरूलाई आकस्मिक द्वारबाट बाहिर निकालिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुडथापाले बताए। विमानमा ६५ जना यात्रु रहेका थिए। 

जहाजको ढोका नखुलेपछि यात्रुहरू आधा घन्टा विमान भित्रै थुनिएका थिए। उनीहरूलाई साँझ पाँच बजेमात्र आपत्कालीन द्वारबाट सकुशल बाहिर निकालिएको श्री एयरलायन्सले जनाएको छ। 

श्री एयरलाइन्स अधिकारीहरुका अनुसार प्राविधिक समस्याका कारण विमानको ढोका खुल्न कठिनाई भएको थियो।काठमाडौंबाट बुद्ध एयरमा आएका श्री एयरलाइन्सका प्राविधिकले साँझ आठ बजेतिर जहाजको ढोका मर्मत गरेको श्री एयरका धनगढी इन्चार्ज गजेन्द्र शाहीले जानकारी दिए। 

अवरुद्ध ढोका बनाइसकेको भएपनि समय अभावका कारण सोमबारको धनगढी–काठमाडौं उडान भने मंगलरबार मात्र हुने एयरलायन्सले जनाएको छ।