हुम्लाका विद्यार्थीले समयमै किताब पाउने

हुम्लाका विद्यार्थीले समयमै किताब पाउने

हुम्ला । समयमै किताब ९पाठ्यपुस्तक० नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यालयमा किताब पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा किताब पुगेको हो ।

शैक्षिक सत्र सुरु भएको महिनौँ दिनसम्म किताब नपाएको गुनासो गर्ने विद्यार्थीले यस पटक भने शैक्षिक सत्र सुरु भएको दिन नै किताब पाउने भएका छन् । किताब नपाएको दुःख सुनाउने हुम्लाका विद्यार्थीको गुनासो यस वर्ष सम्बोधन भएको छ । 

जिल्लाको दक्षिण भेगमा रहेका सर्केगाड, चङ्खेली, ताँजकोट र अदानचुली गाउँपालिकामा तीन दिनअगाडि नै किताब पुगिसकेको छ । योसँगै विद्यार्थीले वार्षिक परीक्षा हुँदासम्म हातमा किताब नहुने पीडा अन्त्य भएको छ । 

ताँजकोटका १८ र अदानचुली गाउँपालिका २१ सामुदायिक विद्यालयमा किताब पुर्‍याउने जिम्मा लिनुभएका लोकेन्द्र भण्डारीले केही दिन अगाडि सबै विद्यालयमा पुस्तक पुगिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ शैक्षिक सत्र सुरु नभएकाले सम्बन्धित गाउँपालिका र विद्यालयलाई हस्तान्तरण भने गरिएको छैन । 

सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा तीन दिन अगाडि नै पुस्तक पुगिसकेको ढुवानीकर्ता मानदेव शाहीले बताउनुभयो । नेपालगञ्जबाट गाडीमार्फत ढुवानी गरेर जिल्लामा पुर्‍याइएकाले ढुवानीबापत पाउनुपर्ने रकम नपाएको उहाँको गुनासो गरे । 

‘पहिला जिल्ला शिक्षा कार्यालयमार्फत मङ्सिरको दोस्रो चौमासिकमा किताब खरिदका लागि सम्बन्धित विद्यालयमा रकम उपलब्ध गरा खरिदको प्रक्रिया अगाडि बढाइन्थ्यो’, शाहीले भन्नुभयो । अहिले किताब खरिदका लागि स्थानीय पालिकाले प्रक्रिया अगाडि बढाए पनि किताब खरिदको रकम समयमा दिन नसकेको उनले बताए। पालिकाले किताब खरिद तथा ढुवानीका लागि रकम भुक्तानी नगरे पनि बैंकबाट ऋण निकालेर शैक्षिक सत्र सुरु हुनुअघि नै किताब सम्बन्धित विद्यालयमा पुर्‍याएको शाहीको भनाइ थियो । पालिकाले सम्बन्धित विद्यालयलाई रकम नदिँदा जिल्लामा पुगेका किताब डिलरबाट विद्यालयले खरिद गर्न नसकेको शाहीले उल्लेख गरे । 

किताब पुगे पनि चङ्खेली, सर्केगाड, ताँजकोट र अदानचुली गाउँपालिकाले किताब खरिदका लागि आफ्ना मातहातका विद्यालयलाई भुक्तानी गर्न नसक्दा सम्बन्धित विद्यालयले खरिद गर्न सकेका छैनन् । पालिकाले सम्बन्धित विद्यालयको खातामा रकम जम्मा गरेको दिन डिलरबाट किताब लैजान सकिने शाहीको भनाइ थियो । यी चार पालिकामा पैदल मार्गमार्फत केही दिनअघि किताब पुगिसकेका छन् । कक्षा १ देखि १० सम्मका सबै विषयका किताब पुगेको ढुवानीकर्ता शाहीले जानकारी दिए । 

जिल्लाको माथिल्लो भेगका सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका लागि किताब पुग्न सकेको छैन । हवाई मार्गमार्फत ढुवानी गर्दा जहाजले समयमा ढुवानी नगर्ने भएकाले पैदल मार्गमार्फत ढुवानी गरिने ढुवानीको जिम्मा लिनुभएका ज्ञानबहादुर रोकायाले बताउनुभयो । उहाँका अनुसार तीन पालिकाका लागि भोलि शनिवारदेखि नेपालगञ्जबाट पैदल मार्ग भएर ढुवानी गरिने छ ।

हिमाली जिल्ला हुम्ला दुर्गम भएकाले सधैँ किताबको समस्या झेलिरहेका विद्यार्थीले यो शैक्षिक सत्रमा भने समयमै किताब पाउने भएका छन् । कहिले सडक समस्या त कहिले हवाई सेवा नियमित नहुँदा समस्या भोगिरहेका हुम्लासहित कर्णालीका हिमाली जिल्लाका विद्यार्थीले यस शैक्षिक सत्र सुरु भएसँगै किताब पाउने भएका हुन् । हुम्लाका चार गाउँपालिकामा किताब पुगिसकेका छन् भने तीन पालिकाका लागि शनिवारदेखि ढुवानी सुरु हुँदैछ ।

यहाँ तीन वर्षयतादेखि नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरु हुने गरेको छ । कोरोना महामारीको समयमा पठनपाठनमा समस्या भएपछि यहाँका पालिकाले वैशाखदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका हुन् ।

तीन वर्षअघि फागुन २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने र मङ्सिरको अन्तिमसम्म वार्षिक परीक्षा सकेर यहाँका शिक्षक हिउँदे बिदा बस्दै आएका थिए । कोरोना सङ्क्रमणपछि हिउँदे बिदा भए पनि चैतमा वार्षिक परीक्षा सम्पन्न गरेर वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्न थालिएको मानसरोवर उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए ।